सागर बि.क ,जाजरकोट, जेठ १३ । जाजरकोट जिल्लाको विकास र सुशासनमा जुनीचाँदे गाउँपालिकाले ऐतिहासिक फड्को मारेको छ। जिल्लामै पहिलो पटक आफ्नै ‘गाउँ प्रहरी’ परिचालन गर्ने तयारी पूरा गर्दै जुनीचाँदेले स्थानीय सरकार सञ्चालनमा नयाँ नजीर बसालेको छ।
जनहितकारि सुचना



नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र शान्ति–सुव्यवस्था कायम गर्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन दिएको अधिकारलाई टेकेर गाउँपालिकाले यो कदम चालेको हो। पालिकाले छुट्टै कानुन निर्माण गरी पारदर्शी प्रक्रियाबाट जनशक्ति छनोट गरेको छ।
गाउँपालिकाले गत वैशाख २९ गते सार्वजनिक सूचनामार्फत सुरु गरेको भर्ना प्रक्रियाबाट ७ जना दक्ष जनशक्ति छनोट गरेको छ। गाउँपालिकाले १ जना वरिष्ठ हवलदार र ६ जना प्रहरी जवान भर्ना गरेको छ।
हाल छनोटमा परेका यी जनशक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको विशेषज्ञ टोली (प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक किरण राना मगरको नेतृत्वमा) बाट आधारभूत तालिम दिइरहेको छ।
के–के हुनेछन् गाउँ प्रहरीको जिम्मेवारी?
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराका अनुसार, यी प्रहरीहरूले कानुन कार्यान्वयनको ‘फिल्ड लेभल’ मा गाउँपालिकाका सार्वजनिक भौतिक पूर्वाधार र सम्पत्तिको संरक्षण, स्थानीय सभा–समारोह, जात्रा, पर्व र मेला–पातमा शान्ति सुरक्षा कायम गर्ने, स्थानीय बजार व्यवस्थित गर्ने र पार्किङस्थलको निगरानी गर्ने र गाउँपालिकाले बनाएका सरसफाइ मापदण्ड, नियम र नीतिहरूको प्रभावकारी कार्यान्वयन गराउने लगायतका महत्वपूर्ण काम गर्ने भएका छन्।
गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र बहादुर शाहीका अनुसार, यो केवल प्रहरी भर्ना मात्र नभएर पालिकामा अमनचयन सुनिश्चित गर्ने र सेवा प्रवाहलाई थप चुस्त बनाउने रणनीति हो। जिल्लाका अन्य स्थानीय तहका लागि पनि यो एउटा अनुकरणीय अभ्यास बन्न पुगेको छ।
स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर निर्माण गरेको यो सुरक्षा संरचनाले भोलिका दिनमा जाजरकोटको सुशासन र स्थानीय विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।





