राम प्रकाश बिक, जुम्ला, गुठीचौर । गुठीचौर गाउँपालिकाले नागरिकको सर्वाङ्गीण विकासका लागि भौतिक पूर्वाधारसँगै ‘मानसिक समृद्धि’लाई प्रमुख आधारस्तम्भका रूपमा अघि सारेको छ। मानसिक स्वास्थ्य सेवालाई गाउँपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्दै सी.एम.सी.-नेपालसँगको सहकार्यमा यसलाई थप व्यवस्थित बनाइएको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले मानव विकासको कडी नै मानसिक स्वास्थ्य रहेको स्पष्ट पार्नुभएको छ। “मानव विकासको साधन र साध्य दुवै मानसिक समृद्धि हो। भौतिक विकास मात्र पर्याप्त छैन, जबसम्म नागरिकको मन र मस्तिष्क स्वस्थ हुँदैन, तबसम्म वास्तविक समृद्धि सम्भव छैन,” अध्यक्ष बुढाले भन्नुभयो। उहाँले मानसिक स्वास्थ्य कार्यक्रमसँगै योग र ध्यान जस्ता सकारात्मक जीवनशैलीका अभ्यासहरूलाई पनि गाउँपालिकाको कार्यक्रममा प्राथमिकताका साथ जोड्न विशेष जोड दिनुभएको छ।

जनहितकारि सुचना

सी.एम.सी.-नेपालकी मानसिक स्वास्थ्य संयोजक जागृति थापाले समुदायको तल्लो तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्‍याउन संस्था कटिबद्ध रहेको बताउनुभयो। थापाले भन्नुभयो, “हाम्रो लक्ष्य भनेको ‘Leave No One Behind’ (कोही पनि पछाडि नछुटून्) भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै मानसिक स्वास्थ्य सम्बन्धी सामाजिक लाञ्छनालाई जरैदेखि उन्मूलन गर्नु हो। हामी विद्यालय तहमा मनोसामाजिक ज्ञान, स्वास्थ्य संस्थाहरूमा परामर्श कक्ष र जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छौँ।” उहाँले पालिकाको नेतृत्वले देखाएको तत्परताले यो अभियान सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो।

​सम्झौताका मुख्य आकर्षण, पालिकाका स्वास्थ्य संस्थाहरूमा मनोपरामर्श कक्ष स्थापना गरी विशेषज्ञ सेवा प्रदान गरिनेछ।

​ विद्यार्थी र शिक्षकहरूको लागि तनाव व्यवस्थापन, आत्महत्या रोकथाम र मनोसामाजिक ज्ञानको सीप विकासमा जोड दिइनेछ।

​ मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति तथा अपाङ्गता भएका नागरिकहरूलाई जीविकोपार्जनका कार्यक्रममा जोडेर आत्मनिर्भर बनाइनेछ।

​ पालिकाको नीतिअनुसार मानसिक स्वास्थ्य सेवाको प्रभावकारिता मापन गर्न त्रैमासिक बैठक र समीक्षा गरिनेछ।

​यो सहकार्यले गुठीचौर गाउँपालिकालाई कर्णाली प्रदेशमै मानसिक स्वास्थ्य सेवामा एक नमुना पालिकाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय