Monday, November 2, 2026

जुम्ला, ११ जेठ । विश्वको सबैभन्दा उच्च स्थानमा धान खेती हुने क्षेत्रमध्येको एक, जुम्लाको पातारासी गाउँपालिका–३ स्थित ऐतिहासिक छुमचौर जिउलो मा यतिबेला रोपाइँको रौनक छाएको छ। समुद्र सतहबाट २,८५० मिटरको उचाइमा रहेको यो फाँटमा आइतबार विशेष धान महोत्सव आयोजना गर्दै रोपाइँको औपचारिक सुरुवात गरिएको हो।

​

​सामान्यतया नेपालका अन्य भूभागमा असार महिनामा रोपाइँ हुने गरे पनि जुम्लामा भने जेठमै किसानहरू खेतमा व्यस्त हुन्छन्। यसको मुख्य कारण यहाँको चिसो हावापानी हो। ढिलो रोपाइँ गर्दा धान पाक्ने समयमा चिसो बढ्ने र बाली नपाक्ने जोखिम हुने भएकाले किसानहरू जेठमै मार्सी धान रोप्न बाध्य र अभ्यस्त छन्।

 

​पछिल्लो समय बजारमा जुम्ली मार्सी चामलको माग र लोकप्रियता उच्च छ। यद्यपि, उत्पादन घट्दै गएकाले यसलाई लोप हुनबाट जोगाउन गाउँपालिकाले विशेष पहल गरिरहेको छ।

​ गाउँपालिकाको कृषि शाखा र कृषि विकास कार्यालयको समन्वयमा स्थानीयवासीको सहभागितामा सामूहिक रोपाइँ गरिँदै आएको छ।

​आर्थिक पक्ष: जुम्लाको अर्थतन्त्रमा मार्सी धानको योगदान ठूलो छ। गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म मात्रै जिल्ला बाहिर करिब १७५ मेट्रिक टन मार्सी चामल निर्यात गरेर किसानहरूले ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन्।

​

​परम्परागत खेती प्रणालीमा रोग र कीराको प्रकोप बढ्दै गएपछि कृषि अनुसन्धान केन्द्रले नयाँ जातहरूमा ध्यान केन्द्रित गरेको छ। हाल ‘चन्दननाथ १ र ३’ जातका धान लगाउन किसानलाई सिफारिस गरिएको छ।

​ धानबालीमा लाग्ने रोग नियन्त्रण र उत्पादन बढाउन अब ‘मार्सी १८, २० र २२’ जातका धान सिफारिस गर्ने प्रक्रिया अघि बढेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो।

​

​पातारासीकी स्थानीय कृषक राजबहादुर कामी भन्नुहुन्छ, “मार्सी धान हाम्रो पहिचान हो। तर, यसको संरक्षणका लागि नयाँ प्रविधि, प्राविधिक ज्ञान र उचित सीप स्थानीय स्तरमै उपलब्ध हुनु अति आवश्यक छ।”

​जुम्लाको कुल २,८८८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत (१,०६८ हेक्टर) क्षेत्रमा रैथाने मार्सी धान खेती हुने गर्दछ। मार्सी धानको संरक्षणले एकातिर जुम्लाको मौलिकता जोगाउनेछ भने अर्कातिर किसानको जीवनस्तर उकास्न कोसेढुङ्गा सावित हुनेछ।