Sunday, August 9, 2026 | 10:37:36 PM

ल​गुठीचौर, जुम्ला जेठ ८ । ​गुठीचौर गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँगको अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रोजगार सेवा केन्द्र, गुठीचौरको आयोजनामा भएको उक्त कार्यक्रमले वैदेशिक रोजगारीको यथार्थ, यसका जोखिम र स्वदेशमा नै केही गर्ने सकिने सम्भावनाका बारेमा गहिरो विमर्श गरेको छ।

​कार्यक्रममा वडा नं ३ का अध्यक्ष इन्द्र बुढा ले सहभागीहरूलाई सम्बोधन गर्दै भन्नुभयो,​”विदेशको तातो घाममा बगाएको पसिना र सीपलाई अब आफ्नै माटोमा खन्याउने बेला आएको छ। विदेशबाट फर्किएका तपाईँहरूको अनुभव नै हाम्रो पालिकाको लागि पुँजी हो। तपाईँहरूले त्यहाँ सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्न सके मात्र साँचो अर्थमा वैदेशिक रोजगारीको सार्थकता हुन्छ। गाउँपालिका तपाईँहरूको व्यावसायिक योजनामा साथ दिन सदैव तत्पर छ।”

 

​त्यसैगरी, कार्यक्रमका फोकल पर्सन शिवकन्या अधिकारी ले सुरक्षित आप्रवासनका विविध पक्षमा प्रकाश पार्दै भन्नुभयो,​”वैदेशिक रोजगारी आफैँमा खराब होइन, तर सूचना र सीपबिनाको यात्रा सधैँ जोखिमपूर्ण हुन्छ। सामी कार्यक्रमको मुख्य उद्देश्य नै ‘सहि सूचना, सही निर्णय’ हो। यदि पुनः विदेश जाने सोच बनाउनुभएको छ भने पनि सीप सिकेर, कानुनी प्रक्रिया बुझेर र पूर्ण तयारीका साथ मात्र जानुहोस्। हामी तपाईँलाई आवश्यक परामर्श र सहजीकरण गर्न प्रतिबद्ध छौँ।”

 

​कार्यक्रमका वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप र अनुभवलाई स्थानीय स्तरमा कसरी उपयोग गर्ने भन्ने विषयमा छलफल, वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, सम्झौतापत्र अध्ययन, र आवश्यक कागजातहरूको बारेमा जानकारी, सिप नसिकी विदेश जाँदा भोग्नुपर्ने समस्या र सामी कार्यक्रममार्फत उपलब्ध हुने तालिमका अवसरहरूमा जोड र सरकारको ‘स्वदेशमा नै रोजगारी गरौँ’ भन्ने नारालाई सार्थकता दिन पालिकाभित्रै उपलब्ध रोजगारका अवसरहरूबारे जानकारी दिनुभएको थियो।

​कार्यक्रमले वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई आफ्नो अनुभव साटासाट गर्ने र भविष्यको योजना बनाउन सहज वातावरण सिर्जना गरेको छ। रोजगार सेवा केन्द्र, गुठीचौरले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय स्तरमा स्वरोजगारका अवसरहरू बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय