जुम्ला, गुठीचौर । गुठीचौर गाउँपालिका वडा नम्बर ३ मा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एकदिने अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न भएको छ।
गुठीचौर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष इन्द्र बुढाको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले स्थानीयवासीहरूलाई सचेत गराइएको थियो।
जनहितकारि सुचना



कार्यक्रममा बोल्दै गाउँपालिकाका रोजगार संयोजक शिवकन्या अधिकारी देवकोटाले वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानी र प्रक्रियाका बारेमा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने रहर मात्रै ठूलो होइन, आवश्यक सिप र सहि सूचना हुनु अनिवार्य छ। बिना सीप र जानकारी विदेश जाँदा ठगिने सम्भावना उच्च हुन्छ, त्यसैले वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुअघि सम्बन्धित निकायमा परामर्श लिनुहुन अनुरोध गर्दछु।”
त्यस्तै, कार्यक्रमका सभाध्यक्ष एवं वडाध्यक्ष इन्द्र बुढाले वैदेशिक रोजगारीमा जाने युवाहरूले स्वदेशको माटोमा नै केही गर्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता स्वदेशमै रोजगारी सिर्जना गर्ने हुनुपर्छ। यदि विदेश जानै पर्ने बाध्यात्मक अवस्था भएमा कानुनी प्रक्रिया बुझेर, सिप सिकेर मात्रै जानुहोला। स्थानीय सरकार तपाईँहरूको सुरक्षित वैदेशिक रोजगारीको पक्षमा छ।
वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने मुख्य कुराहरू
कार्यक्रममा सहभागीहरूलाई वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन म्यानपावर कम्पनी वा दलालमार्फत नभई सरकारले तोकेको आधिकारिक निकाय (रोजगार सेवा केन्द्र) बाट वैदेशिक रोजगारीबारे सहि र आधिकारिक जानकारी लिने, अदक्ष कामदारको रूपमा जाँदा थोरै तलब र जोखिम बढी हुने भएकाले सम्बन्धित कामका लागि आवश्यक सीप सिकेर मात्र जाने, रोजगार सम्झौता पत्रको भाषा राम्रोसँग बुझेर मात्र हस्ताक्षर गर्ने र त्यसको एक प्रति आफूसँग सुरक्षित राख्ने, आफ्नो श्रम स्वीकृति (Work Permit) लिएको छ/छैन सुनिश्चित गर्ने र वैदेशिक रोजगार विभागमा दर्ता हुने र ठगीमा परेको खण्डमा तुरुन्तै प्रहरी वा सम्बन्धित सरकारी कार्यालयमा उजुरी दिने कदमहरू अपनाउन सुझाव दिनुभएको छ।

कार्यक्रममा गुठीचौर गाउँपालिकाका स्थानीयवासी, युवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।






