जुम्ला । जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रकाश बहादुर शाही २०८३ सालको वैशाख महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतले सई शाहीको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उनलाई सो सम्मान प्रदान गरेको हो।
जनहितकारि सुचना



कार्यालयका अनुसार, सई शाहीले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता र कुशलताका कारण उनी यो सम्मानका लागि छनोट भएका हुन्। उनले गरेका
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै दुर्घटना दर घटाउन खेलेको प्रभावकारी भूमिका, विशेष गरी दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालय र समुदायमा पुगेर सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउन उनले पुर्याएको योगदान, बढ्दो सवारी चापका बाबजुद सडक अनुशासन कायम राख्न र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन देखाएको व्यावसायिकता, स्थानीय तह, विद्यालय र नागरिक समाजसँग समन्वय गरी सुरक्षित यात्राका लागि निरन्तर खटिएकोले ’सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनोट मार्गदर्शन–२०८१’ को मापदण्ड र मूल्याङ्कनको आधारमा उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालयले जनाएको छ।
यो सम्मान प्राप्त भएपछि उत्साहित देखिएका सई शाहीले आफ्नो मेहनतको कदर हुनु खुसीको विषय भएको बताएका छन्। उनले भने, “यस सम्मानले मलाई थप जिम्मेवार भएर काम गर्ने प्रेरणा र उच्च मनोबल प्रदान गरेको छ। आगामी दिनमा पनि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउन म प्रतिबद्ध छु।”
दुर्गम जिल्ला जुम्लाको कठिन भूगोलमा रहेर पनि ट्राफिक व्यवस्थापनमा उनले देखाएको सक्रियताले आम नागरिकमा प्रहरीप्रतिको विश्वास थप बढाएको छ।





