राम प्रकाश वि.क, जुम्ला । जुम्ला जिल्लाका सबै (आठ वटा) स्थानीय तहहरू पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन् । बुधबार पातारासी गाउँपालिकालाई एक विशेष समारोहका बीच औपचारिक रूपमा ’पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा गरिएसँगै जिल्लाका सबै स्थानीय तह यो मापदण्डमा समेटिएका हुन् ।

पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा भएको सो विशेष समारोहमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । पातारासी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाका अनुसार पालिकाभित्रका ७ वटै वडामा खोप अभियानलाई शतप्रतिशत सफल बनाइएको छ । तथ्याङ्क अनुसारः

जनहितकारि सुचना

पातारासी गाउँपालिकाका १५ महिनासम्मका बालबालिका २३५ जना, १६ देखि २३ महिनाका बालबालिका २०८ जना रहेका छन्, भने, कुल २४४ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

बालबालिकाहरूलाई घातक रोगहरूबाट बचाउनका लागि बीसीजी, डिपिटी–हेपटाइटिस बी, हिब, पीसीभी, ओपीभी, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिस, एफआईपीभी तथा टीसीभी लगायतका १३ प्रकारका एन्टिजेन शतप्रतिशत रूपमा प्रदान गरिएको प्रमुख बुढ्थापाले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले विकट भौगोलिक अवस्था र अनेकौँ चुनौतीका बाबजुद खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए । यद्यपि, अझै पनि कतिपय ठाउँमा बालबालिकाहरू खोप सेवाबाट वञ्चित भएको गुनासो आउनुमा स्वास्थ्यकर्मीहरूको कमजोरी रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अध्यक्ष बोहोराले भने, “कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ अब पालिकाभरि ’अप्रेसन’ (विशेष अभियान) सहित स्वास्थ्य शाखाहरूको कडा अनुगमन गरिनेछ ।“ आगामी दिनमा घरदैलो अभियान, नियमित अनुगमन र चुस्त स्वास्थ्यकर्मी परिचालनलाई प्राथमिकतामा राखिने उनले प्रतिबद्धता जनाए ।

गाउँपालिकाकी उपाध्यक्ष जनमायाँ रोकायाले पनि स्वास्थ्य क्षेत्रलाई पालिकाले विशेष तवरबाट हेरिरहेको बताउँदै सबैको साथ र सहयोगबिना कुनै पनि काम सम्भव नहुने धारणा राखिन् । केही बालबालिका अझै छुट्ने गरेको खबरप्रति ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा कोही पनि नछुट्ने गरी पालिकाले विशेष कदम चाल्ने स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालबालिकाको जीवनका लागि खोप अत्यन्त महत्त्वपूर्ण रहेको र यसले हिजो र आजका बालबालिकाको स्वास्थ्य अवस्थामा ठुलो सकारात्मक भिन्नता ल्याएको बताए । उनले अब स्वास्थ्यका साथै पालिकाले लागूऔषध दुव्र्यसनी विरुद्धका चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले पालिकालाई कागजमा मात्र घोषणा गरेर नपुग्ने भन्दै यसलाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राखे । मानव जीवनका लागि स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र भएकोले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्दै प्रजिअ पौडेलले भने, “जनस्वास्थ्य कार्यालयको सक्रियतामा आठै पालिका घोषणा भइसकेका छन्, अब सिङ्गो जुम्ला जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न जनस्वास्थ्य कार्यालयको अहम् भूमिका रहने अपेक्षा गरेको छु ।“

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले यो अभियानलाई दिगो बनाउन हरेक वर्षको वैशाख महिनालाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना महिना’का रूपमा मनाइने जानकारी दिए ।

“रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो, त्यसैले बालबालिकालाई ठुला र घातक रोगबाट बचाउन खोप अनिवार्य छ,“ प्रमुख शर्माले भने । उनले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाएर यो सफलतालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

उक्त ऐतिहासिक घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (ँऋज्ख्क), जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय