जुम्ला । जुम्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको उम्गाड–सनिगाउँ सडक आयोजना निर्माणका क्रममा चरम लापरबाही देखिएको छ। ६५ करोड रुपैयाँको लागतमा निर्माणाधीन उक्त बहुवर्षीय सडकको पर्खाल निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि आयोजनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।
चन्दननाथ नगरपालिका–८, झुम्खोला नजिक निर्माण गरिएका पर्खालहरू अहिले नै चर्किने र भत्किने अवस्थामा पुगेका छन्। स्थानीयले निर्माण कम्पनी ‘कालिका बिदान्सी जे.भी. चितवन’ले गुणस्तरहीन सामग्री प्रयोग गरी राज्यको बजेटमाथि खेलबाड गरेको आरोप लगाएका छन्।
जनहितकारि सुचना



स्थानीय दिपसन गिरीका अनुसार पर्खाल निर्माणमा मापदण्डविपरीत सिमेन्टको मात्रा अत्यन्तै न्यून र ढुङ्गाको प्रयोग अत्यधिक गरिएको छ। उनले भने, “पर्खाल हेर्दा नै निकै कमजोर देखिन्छ। काम छिटो सक्ने नाममा गुणस्तरमा चरम लापरबाही गरिएको छ। प्राविधिक अनुगमनको अभावमा करोडौँ बजेट बालुवामा पानी हाले सरह भएको छ।”
अर्का स्थानीय बिस्न धरालाले संरचनाको दयनीय अवस्थाबारे गुनासो गर्दै भने, “कतिपय स्थानमा सिमेन्टको पकड नै छैन, ढुङ्गाहरू बाहिर निस्किन थालिसके। यस्तो कमजोर संरचनाले वर्षायामको बाढी र पहिरो थेग्न सक्दैन, सडक नै जोखिममा छ।”
आयोजनाको गुणस्तर र निर्माण विधिबारे स्पष्टीकरण लिन खोज्दा निर्माण कम्पनीका साइट ठेकेदार विवेक तामाङले फोन नउठाई अन्ततः मोबाइल स्विच अफ गरेका छन्। ठेकेदारको यस किसिमको गैरजिम्मेवार व्यवहारले आयोजनाको नियतमाथि थप आशंका उब्जाएको छ। यता, निर्माणको नियमन गर्ने निकाय र प्राविधिक टोलीले समेत अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
जुम्लाको उम्गाडदेखि सिँजा गाउँपालिका जोड्ने यो सडक स्थानीयको पहुँच र आर्थिक विकासका लागि निकै महत्वपूर्ण मानिन्छ। तर, निर्माण चरणमै भत्किन थालेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
स्थानीयले सडक आयोजनामा भएको अनियमितताको तत्काल उच्चस्तरीय छानबिन गर्न, गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्न र मापदण्डअनुसार संरचना पुन: निर्माण गर्न जोडदार माग गरेका छन्।
विकासका नाममा भइरहेको यस्तो लापरबाहीले जुम्लाको निर्माण व्यवसायी र सरकारी संयन्त्रको मिलोमतो त छैन भन्ने प्रश्न स्थानीयमा उब्जिएको छ।





