राम प्रकाश बिक, सिजा (जुम्ला) । सिजा गाउँपालिकाको अथक प्रयास र निरन्तरको दौडधुपपछि दुईवटा महत्वपूर्ण पुल निर्माणका लागि ३ करोड रुपैयाँको बजेट सुनिश्चित भएको छ। गाउँपालिकाको विशेष पहलमा वडा नम्बर ६ स्थित भारगाउँ र रुगा गाउँमा कुल ३ करोडको लागतमा दुईवटा आकर्षक एवं आधुनिक ‘प्रिन्ट आर्क ब्रिज’ निर्माण हुने भएका हुन्।
आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको व्यवस्था भए तापनि पछिल्लो समय ‘जेन्जी सरकार’ (Gen-Z Government) आइसकेपछि बजेट कार्यान्वयनको प्रक्रिया अन्योलमा परेको थियो। संघीय सरकारबाट सिजा गाउँपालिकाका लागि विनियोजित कुल १२ करोड रकम कार्यान्वयनमा आउन नसकिरहेको जटिल परिस्थितिमा गाउँपालिका नेतृत्वको सक्रियताले यो सफलता दिलाएको हो।
”डीपीआरदेखि मन्त्रालयसम्म आफैं धाएँ” : अध्यक्ष पूर्णप्रसाद धिताल
गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बजेट सुनिश्चितताका लागि आफूले व्यक्तिगत रूपमा ठूलो संघर्ष गर्नुपरेको बताउनुभयो। विगतको समस्या र आफ्नो प्रयासबारे प्रष्ट पार्दै अध्यक्ष धितालले भन्नुभयो, ”यी पुलहरू सिजाबासीको भाग्य र भविष्यसँग जोडिएका छन्। यसको डिपिआर (DPR) तयार गर्नेदेखि लिएर बजेट स्वीकृत गराउनेसम्मका हरेक प्रक्रियामा हामी आफैं निरन्तर लागिपर्यौं। प्रदेश सरकारबाट फाइल माथि पठाउन र संघीय तहका सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अर्थमन्त्रालयका ढोका-ढोकामा धाएर मात्र आज यो बजेट सुनिश्चित गर्न सफल भएका हौं। जनताको हितमा काम गर्ने हाम्रो प्रतिबद्धता मर्न दिएका छैनौं र दिने पनि छैनौं।”

सिजा गाउँपालिकाका ६ वटा बस्तीहरू फुङ्ग्रा, शनि गाउँ, काँडागाउँ, रुगा, जोडु र भारगाउँका बासिन्दाले वर्षौंदेखि वर्षायाममा उर्लिने खोला र हिउँदको चिसोमा कष्टकर आवतजावत गर्दै आएका छन्। सामान्य कामको लागि पनि ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने यहाँका नागरिकको मुख्य समस्या थियो।
यी दुई पुलहरू क्रमशः ११ मिटर र ९ मिटरका मात्र हुने भए पनि भौगोलिक विकटताका बीच यिनको महत्व र आवश्यकता भने निकै ठूलो छ। पुल निर्माण भएसँगै: ६ वटा गाउँका हजारौं नागरिकको आवतजावत सुरक्षित र सहज हुनेछ।
दैनिक उपभोग्य सामग्रीको ढुवानी र बिरामी पर्दा अस्पतालसम्म पुग्न लाग्ने समय बचत हुनेछ।
बालबालिकालाई विद्यालय जान र किसानलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउन सहज हुनेछ।

जुम्ला बजारको यात्रा छोटो र सहज बन्दै
यो पुल निर्माणसँगै सिजाबासीका लागि जुम्ला सदरमुकाम (बजार) पुग्ने दूरी निकै छोटिनेछ। ‘पलन देउ पुल’ ले समग्र जुम्ला बजारको यात्रालाई सुरक्षित र द्रुत बनाउने दाबी गरिएको छ।
यसका साथै, सिजा गाउँपालिकाको छकलेपानी हुँदै दिलौरीबाट जुम्ला बजार जोड्ने सडकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ। कुल सडकमध्ये अब मात्र ७०० मिटर खण्ड निर्माण हुन बाँकी छ।
अध्यक्ष धितालका अनुसार उक्त बाँकी रहेको ७०० मिटर बाटोको काम पनि चाँडै पूरा गरिनेछ। यो सडक र पुलको सञ्जाल पूर्ण रूपमा तयार भइसकेपछि सिजाको झण्डै आधा जनसंख्याले यही मार्ग प्रयोग गर्नेछन्, जसले गर्दा सिजाबासीको वर्षौंदेखिको यातायातको दुःख सदाका लागि अन्त्य हुनेछ।
स्थानीय सरकार नागरिकको सुख-दुःखको साथी बन्दै जनअपेक्षा अनुरूप अगाडि बढिरहेको यस कार्यले प्रमाणित गरेको भन्दै यतिबेला सिजाका स्थानीय बासिन्दाहरूमा खुसीयाली छाएको छ।






