गुठीचौर (जुम्ला) । जुम्लाको गुठीचौर गाउँपालिकाले पालिकाभित्रका अति विपन्न र जटिल प्रकृतिका दीर्घ रोगीहरूलाई आर्थिक सहायता रकम वितरण गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ६ जना र चालु आर्थिक वर्ष २०८२/८३ मा थप ६ जना गरी कुल १२ जना दीर्घ रोगीहरूलाई प्रतिव्यक्ति मासिक ५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको हो।
नेपाल सरकारको स्वीकृत कार्यविधि र मन्त्रिपरिषद्को निर्णय बमोजिम नै लक्षित वर्गलाई यो सुविधा प्रदान गरिएको गुठीचौर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश बुढाले जानकारी दिनुभयो।
जनहितकारि सुचना



स्वास्थ्य शाखा प्रमुख बुढाका अनुसार यो सुविधा एक आर्थिक वर्षका लागि मात्र मान्य हुने भएकाले सेवाग्राहीले प्रत्येक वर्ष प्रक्रिया पुर्याएर नवीकरण गराउनुपर्ने हुन्छ। “ठिक समयमा आवश्यक सबै प्रमाण तथा कागजातहरू पेश गरेपछि एक वर्षका लागि यो सहायता सुरक्षित हुन्छ,” उहाँले भन्नुभयो, “तर आगामी वर्षहरूमा पनि सेवा निरन्तर पाउनका लागि कार्यविधि अनुसार प्रत्येक वर्ष नवीकरण गराउनु अनिवार्य छ।”
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय र “जटिल प्रकृतिका रोग भएका बिरामीहरूलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि” अनुसार मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात (Spinal Injury) भएका बिरामीहरूलाई मासिक ५ हजार रुपैयाँका दरले (वा त्रैमासिक रूपमा) आर्थिक सहायता दिने कानुनी व्यवस्था छ।
स्थानीय सरकारले सोही संघीय कार्यविधिलाई अंगीकार गर्दै स्थानीयस्तरमा रहेका वास्तविक बिरामीहरूको पहिचान गरी यो रकम वितरण गर्दै आएको हो।
आर्थिक सहायता पाउन वा नवीकरणका लागि आवश्यक पर्ने कागजातहरू
कार्यविधि अनुसार यो सुविधा लिन र प्रत्येक वर्ष नवीकरण गराउनका लागि सम्बन्धित बिरामी वा परिवारले सम्बन्धित वडा कार्यालयको आर्थिक सहायताका लागि गरिएको आधिकारिक सिफारिस, बिरामीको नागरिकता (नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र), नेपाल सरकारद्वारा मान्यता प्राप्त अस्पतालका विशेषज्ञ चिकित्सक (Specialist) ले रोग प्रमाणित गरेको र नियमित उपचारमा रहेको प्रेस्क्रिप्सन वा मेडिकल रिपोर्ट, डायलाइसिस गराइरहेको, मिर्गौला प्रत्यारोपण गरेको, क्यान्सरको उपचार भइरहेको वा मेरुदण्ड पक्षाघात भएको स्पष्ट खुल्ने कागजात, स्थानीय तह वा वडाले प्रमाणित गरेको आर्थिक अवस्था कमजोर भएको (विपन्न) प्रमाणपत्र, बिरामीको हालसालै खिचिएको फोटो र रकम भुक्तानीका लागि बिरामी वा संरक्षकको नाममा रहेको बैंक खाताको चेकको कपी लिखित प्रमाणहरू स्वास्थ्य शाखामा पेश गर्नुपर्ने शाखा प्रमुख रमेश बुढाले जानकारी दिनुभयो।
गुठीचौर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नागरिकको जीवन रक्षा र औषधोपचारमा राहत पुगोस् भन्ने उद्देश्यले कार्यविधिलाई कडाइका साथ पालना गर्दै पारदर्शी रूपमा रकम वितरण गरिरहेको जनाएको छ। कोही पनि वास्तविक बिरामी प्रक्रियागत ज्ञानको अभावमा यो सुविधाबाट बञ्चित नहुन् भन्नका लागि समयमै वडा कार्यालय र स्वास्थ्य शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ।





