Tuesday, November 3, 2026

, ✍️ राम प्रकाश बिक बैशाख ३० जुम्ला । स्वस्थ र सबल जनशक्ति निर्माणको आधारभूत सर्तका रूपमा रहेको ‘खोप’ अभियानमा जुम्लाको गुठीचौर गाउँपालिकाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ। गाउँपालिका भित्रका १५ महिना सम्मका र १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले आधारभूत खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले खोपलाई बालबालिकाको मौलिक अधिकारको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “खोपले हाम्रो भावी पुस्तालाई सुरक्षित राख्न र रोग निवारण गर्न ठूलो भूमिका खेल्छ। १९७४ देखि यता विश्वका १५ करोड ४० लाख मानिसको ज्यान खोपले जोगाएको तथ्य हामीसामु छ।”

​अध्यक्ष बुढाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाका समस्याहरूप्रति संवेदनशील रहेको बताउँदै उपकरण र भौतिक पूर्वाधारको अभावलाई कार्यपालिकाको बैठकमा मुख्य एजेन्डा बनाएर समाधान गर्ने आश्वासन दिनुभयो।

​जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले ऐतिहासिक तथ्याङ्क प्रस्तुत गर्दै खोपको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँका अनुसार, सन् १९९६ मा ५०% बालबालिका खोपबाट वञ्चित थिए भने अहिले त्यो सङ्ख्या घटेर २१% मा झरेको छ। शिशु मृत्युदर प्रति हजार ८६ बाट घटेर २८ मा झरेको छ।

​५ वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति हजार ११९ बाट ३३ मा झर्नुमा खोपकै मुख्य योगदान छ। ​तर, शर्माले अझै पनि ९५% लक्ष्य पुग्दा पनि ५% छुट्नु चुनौतीपूर्ण रहेको र खोप खेर जाने (Wastage) दरलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

​

​वडा नम्बर ४ का अध्यक्ष टिकादत्त न्यौपानेले कर्मचारीलाई आवश्यक सामग्री अभाव हुन नदिने र ‘कन्टेन्जेन्सी’ बजेटबाट भए पनि सामग्री खरिद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले परिणाममा कमजोरी देखिनुमा बजेट र स्रोतको सुनिश्चितताको अभाव रहेको औंल्याउँदै स्वास्थ्यकर्मीको प्रयासको प्रशंसा गर्नुभयो।

​गर्ज्याङकोट स्वास्थ्य चौकीकी अनमी राज्यलक्ष्मी तिमल्सिनाले फिल्डमा काम गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइहरू सुनाउनुभयो। “खोप केन्द्रहरू सुरक्षित छैनन्, कतै भुइँमा त कतै चौतारो र बाटोमा बसेर खोप लगाउनुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो। उहाँले स्वयंसेविकाहरूलाई खाजा खर्चको व्यवस्था र सुरक्षित कार्यस्थलको माग गर्नुभयो।

यस्तै, देपालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज बालराम नेपालीले सक्षम नागरिक उत्पादनका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।

यसैगरी आधारभूत स्वास्थ्य चौकी गाउँका इन्चार्ज टेकराज आचार्यले स्वास्थ्य चौकीमा राम्रो कुच्चो समेत नभएको बताउनुभएको छ। हुनुपर्ने मापदण्ड अनुसारका सामग्री नभएको उल्लेख गर्नुभएको थियो। उहाँले यी समस्याहरूलाई सुनाउँदै समाधान गर्दिन माग गर्नुभएको छ।

​स्वास्थ्य शाखा प्रमुख रमेश बुढाले प्रस्तुत गर्नुभएको २०८३ वैशाख १० सम्मको तथ्याङ्क अनुसार पालिकाभरि १७२ जना (०–१५ महिना) र १०४ जना (१६–२३ महिना) का बालबालिकाले पूर्ण खोप पाएका छन्। वडागत पूर्ण खोप प्राप्त सुनिश्चित भएको बुधबारसम्मको तथ्याङ्क हेर्दा मणिसुँगु स्वास्थ्य चौकी वडा नम्बर १ को १६ देखि २३ महिना सम्मका जम्मा बालबालिकाहरूको २१  ० देखि १५ महिना सम्मका जम्मा बालबालिकाहरूको संख्या ३७,पूर्ण खोप प्राप्त जम्मा बालबालिकाहरूको संख्या २१ जना रहेका छन्

 

आधारभूत स्वास्थ्य सेवा केन्द्र गुठिगाउँ वडा नम्बर २ को १६ देखि २३ महिना सम्मका जम्मा बालबालिकाहरूको २९, ० देखि १५ महिना सम्मका जम्मा बालबालिकाहरूको संख्या ३९, पूर्ण खोप प्राप्त जम्मा बालबालिकाहरूको संख्या २९ रहेका छन् भने, २०८३ साल वैशाख १० गतेसम्मको तथ्याङ्क हेर्दा आधारभूत स्वास्थ्य सेवा केन्द्र गर्याङकोट वडा नम्बर ३ को १६ देखि २३ महिना सम्मका जम्मा बालबालिकाहरूको १४, ० देखि १५ महिना सम्मका जम्मा बालबालिकाहरूको संख्या २५, पूर्ण खोप प्राप्त जम्मा बालबालिकाहरूको संख्या १४ रहेको तथ्याङ्कमा उल्लेख छ।

 

गर्याङकोट स्वास्थ्य चौकी वडा नम्बर ४ को १६ देखि २३ महिना सम्मका जम्मा बालबालिकाहरूको २०, ० देखि १५ महिना सम्मका जम्मा बालबालिकाहरूको संख्या ३१, पूर्ण खोप प्राप्त जम्मा बालबालिकाहरूको संख्या २० रहेको तथ्याङ्कले देखाएको छ।

देपालगाउँ स्वास्थ्य चौकी वडा नम्बर ५  को १६ देखि २३ महिना सम्मका जम्मा बालबालिकाहरूको २०,० देखि १५ महिना सम्मका जम्मा बालबालिकाहरूको संख्या ४०,पूर्ण खोप प्राप्त जम्मा बालबालिकाहरूको संख्या २० रहेको स्वास्थ्य शाखा प्रमुख रमेश बुढाले जानकारी दिनुभयो।

 

साझा प्रतिबद्धता

​कार्यक्रमको अन्त्यमा सम्पूर्ण सरोकारवालाहरूले पाँच बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा:

१. सबै बालबालिकालाई समयमै खोप दिने।

२. छुटेका बालबालिकाको खोजी गर्ने।

३. खोपको गुणस्तर र नियमितता कायम राख्ने।

४. समुदायमा जनचेतना फैलाउने।

५. दिगोपनाका लागि समन्वय गर्ने सङ्कल्प गरेका छन्।

​यो घोषणासँगै गुठीचौर गाउँपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाप्रति राज्यको उत्तरदायित्व पूरा गर्ने दिशामा एक महत्वपूर्ण इँट्टा थपेको छ।