गुठीचौर, जुम्ला । विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै जुम्लाको गुठीचौर गाउँपालिकाले सुरक्षा र पूर्वतयारीका लागि ठोस कदम चालेको छ। हालै सम्पन्न बैठकले विपद् पूर्वतयारी, जनशक्ति परिचालन र कानुनी पूर्वाधार निर्माणका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

​गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा एक मस्यौदा समिति गठन गरेको छ। यस समितिले आगामी १० दिनभित्र ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ तयार गरी कार्यपालिकामा पेश गर्नुपर्नेछ। समितिमा रेडक्रस, न्यायिक शाखा, पशु विकास र विपद् व्यवस्थापन शाखाका विज्ञहरू सहभागी छन्।

गुठीचौर गाउँपालिका ५ को सुचना

​विपद् व्यवस्थापनलाई थप व्यवस्थित बनाउन ‘विपद् कोष सञ्चालन कार्यविधि’ संशोधन गर्ने र नयाँ ‘स्वयंसेवक परिचालन कार्यविधि’ निर्माण गर्ने निर्णय समेत भएको छ।

​वडास्तरमै तयारी र दीर्घकालीन योजना ​आगामी जेठ मसान्तभित्र वडा नं. १, २, ३ र ५ मा ‘वडा स्तरीय विपद् व्यवस्थापन समिति’ गठन गरिनेछ। यसका साथै, जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न गाउँपालिकाले ‘स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना–२०८३’ लाई कार्यान्वयनमा ल्याउने सहमति गरेको छ।

​विगतका विपद्बाट प्रभावित पालिकाबासीलाई गाउँपालिकाले आर्थिक राहत प्रदान गरेको छ। विपद् शाखा प्रमुख अमरराज गिरीका अनुसार कुल ५९ जनालाई ६ लाख १८ हजार रुपैयाँ राहत वितरण गरिएको छ। भेडाच्याङ्ग्रा मरेका  २ जना कृषकलाई (प्रति भेडा १ हजारका दरले) राहत दिएको बताइएको छ।

विपत शाखा प्रमुख अमरराज गिरी ​”बाढी, पहिरो र बोटबिरुवामा क्षति पुगेका पीडितहरूलाई वर्गीकरण गरी न्यायोचित ढंगले राहत वितरण गरेका छौँ। कोही पनि पीडित राहतबाट वञ्चित नहुन् भन्नेमा हाम्रो ध्यान छ।”

विपद्का बेला प्रयोग हुने आधुनिक उपकरणहरूको सही सञ्चालनका लागि गाउँपालिकाले नेपाली सेना र सशस्त्र प्रहरी बलसँग सहकार्य गर्ने भएको छ। सुरक्षा निकायको सहयोगमा पालिकाका कर्मचारी र स्वयंसेवकहरूलाई विशेष तालिम प्रदान गरिनेछ, जसले गर्दा आपतकालीन अवस्थामा तत्काल उद्धार कार्य सुरु गर्न सकियोस्।

​ ​अध्यक्ष दानबहादुर बुढाले “हाम्रो पहिलो प्राथमिकता नागरिकको जिउधनको सुरक्षा हो। विपद् बाजा बजाएर आउँदैन, त्यसैले हामीले योजनाबद्ध रूपमा पूर्वतयारीमा जोड दिएका हौँ। राहत वितरण केवल मलम मात्र हो, हाम्रो लक्ष्य त विपद्‌बाट हुने क्षतिलाई नै न्यूनीकरण गर्नु हो।”

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले
​”प्रशासनिक रूपमा विपद् व्यवस्थापनलाई चुस्त बनाउन हामीले कार्यविधि संशोधन र नयाँ योजनामा जोड दिएका छौँ। १० दिनभित्र मस्यौदा तयार गरी हामी कार्यान्वयनको चरणमा जानेछौँ। यसले पालिकाको विपद् सामना गर्ने क्षमता बढाउनेछ।”
गुठीचौर गाउँपालिकाले अघि सारेका यी रणनीतिक कदमहरूले अन्य स्थानीय तहका लागि पनि विपद् व्यवस्थापनमा एउटा उदाहरणीय मार्गचित्र प्रस्तुत गरेको छ।✍️ राम प्रकाश बिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय