राम प्रकाश बि.क, जुम्ला । जनताले तिरेको करबाट किनिएका सरकारी सवारी साधन र इन्धनको खुलेआम दुरुपयोग जुम्लामा सामान्य जस्तै बन्न थालेको छ। सार्वजनिक बिदाको दिन सरकारी काम बाहेक अन्य प्रयोजनका लागि सवारी साधन गुडाउन नपाइने कानुनी प्रावधान भए पनि जुम्लाको सडकमा शनिबार सरकारी नम्बर प्लेटका मोटरसाइकलहरू निर्धक्क ‘निजी’ सयरमा भेटिए।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको संयुक्त टोलीले शनिबार गरेको विशेष चेकजाँचका क्रममा ५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएपछि सरकारी निकायभित्रको लापरबाही र शक्तिको दुरुपयोगको ऐजेरु फेरि सतहमा आएको हो।



ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूमा स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीसम्मको संलग्नता देखिएको छ
यस्तै चन्दननाथ नगरपालिका २ वटा मोटरसाइकल (जसमध्ये क.१ ब १४५ नम्बरको मोटरसाइकल कर्मचारी क्षेत्र बहादुर बुढाथापाले चलाइरहेका थिए)।
हिमा गाउँपालिकामा क.प्र.०-१००१ ब ४१० नम्बरको मोटरसाइकल(कार्यपालिका सदस्य बिर तिरुवा सवार) थिए।
पातारासी गाउँपालिका १ वटा मोटरसाइकल (चालकले आफू प्राविधिक भएको दाबी गरे पनि नाम खुलाउन अस्वीकार गरेका छन्)।
सघन शहरी तथा भवन डिभिजन कार्यालय १ वटा मोटरसाइकल (प्रशासनको पास देखाएपछि मात्र फिर्ता गरिएको) हो।

कानुन के भन्छ? (कानुनी व्यवस्था)
नेपाल सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सुशासन प्रवर्द्धन गर्न विभिन्न निर्देशिकाहरू जारी गरेको छ।
सरकारी सवारी साधन (सञ्चालन तथा मर्मत) निर्देशिका, यस अनुसार सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्न अनिवार्य रूपमा सम्बन्धित निकायको प्रमुख वा जिल्ला प्रशासन कार्यालयबाट ‘सवारी पास’ लिनुपर्ने व्यवस्था छ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ सरकारी सम्पत्तिको संरक्षण गर्नु र त्यसलाई व्यक्तिगत लाभमा प्रयोग नगर्नु कर्मचारी र जनप्रतिनिधिको नैतिक तथा कानुनी दायित्व हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ सरकारी स्रोत-साधनको निजी हितमा प्रयोग गर्नुलाई पनि एक प्रकारको आर्थिक अनियमितताकै रूपमा हेरिन्छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहीले बिदाको दिन सरकारी साधनको दुरुपयोग बढेकाले कडाइ गरिएको बताए। यद्यपि, आफ्ना मातहतका कर्मचारी र साधन दुरुपयोग भइरहँदा सम्बन्धित कार्यालय प्रमुखहरूले देखाएको मौनताले यसमा उनीहरूको पनि ‘मौन सहमति’ त छैन भन्ने प्रश्न उठाएको छ।
स्थानीयले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मितव्ययिता अपनाउन दुई दिने बिदाको नीति ल्याए पनि जुम्लामा भने जनताको करमा ‘होली’ खेलिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
एक स्थानीय युवा”सर्वसाधारणलाई कानुन सिकाउनेहरू नै नियम मिच्दै सडकमा भेटिनु विडम्बना हो। यो सुशासनको उपहास मात्र नभई जनतामाथिको थिचोमिचो पनि हो।”
प्रहरीले पास नभएका अन्य मोटरसाइकलहरूलाई अझै नियन्त्रणमै राखेको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। यो घटनाले जुम्लामा सुशासनको अवस्था कस्तो छ भन्ने कुरालाई ऐना झैं प्रस्ट पारेको छ।



