गुठीचौर, जुम्ला । गुठीचौर गाउँपालिका वडा नं. २ मा ‘बहुक्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत सुनौला हजार दिनका महिलाहरूको पोषण र आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

​२०८३ बैशाख २३ गते वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिका अध्यक्ष एवं वडा अध्यक्ष दिप बहादुर ऐडिको अध्यक्षतामा बसेको बैठकले स्थानीय गोठिगाउँ बस्तीका विपन्न महिलाहरूलाई लक्षित गरी विभिन्न ५ वटा महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

​कार्यक्रमको मुख्य उपलब्धि स्वरूप वडा नं. २ मा रहेका सुनौला हजार दिनका विपन्न महिलाहरूलाई संगठित गर्दै ‘लालीगुराँस पोषण प्रवर्द्धन समूह’ नामकरण गरिएको छ। बैठकले २५ सदस्यीय यस समूहलाई विधिवत् गठन गरी गाउँपालिकाको पशु सेवा र कृषि विकास शाखामा दर्ता एवं अभिलेखीकरण गर्ने निर्णय गरेको छ।

​समूहको नेतृत्व चयनमा ​संयोजक कविता बुढा, ​सचिव पुष्पा बोहोरा, ​कोषाध्यक्ष जुनछाँया ऐडि चयन गरिएको छ भने अन्य सदस्यहरू रहेका छन्।

 

​विपन्न आमाहरूको आयआर्जन बढाउन केवल अनुदान मात्र नभई सीप पनि आवश्यक पर्ने महसुस गर्दै बैठकले २ दिने व्यवसायिक योजना सम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त तालिममा सहभागी महिलाहरूलाई आफ्नो व्यवसाय कसरी सुरु गर्ने र त्यसलाई दिगो कसरी बनाउने भन्नेबारे विभिन्न शाखाका विज्ञहरूले प्रशिक्षण दिनेछन्।

​कार्यक्रममा उपस्थित कृषि, पशु र बालबालिका शाखाका प्रमुखहरूले आयआर्जनको सहि उपयोग सिधै पोषणमा लगानी हुनुपर्नेमा जोड दिएका छन्।

​कृषि विकास शाखा प्रमुख धर्मराज देवकोटा र पशु शाखा प्रमुख ध्रुवराज गिरीले अनुदानको रकमलाई तरकारी खेती र पशुपालनमा लगाई घरमै अण्डा, दूध र हरियो सागपातको सुनिश्चितता गर्न आग्रह गर्नुभयो।

​बालबालिका शाखा प्रमुख सुस्मिता थापा र सहजकर्ता जतिप्रसाद धितालले “स्वस्थ आमा, स्वस्थ बच्चा” को नारालाई व्यवहारमा उतार्न यो समूह कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

​बैठकले गरेका निर्णयहरू अनुसार, अनुदान प्राप्त गर्ने प्रत्येक लाभग्राहीले अनिवार्य रूपमा आफ्नो व्यवसायिक कार्ययोजना बनाई सोही अनुसारका क्रियाकलापहरू गर्नुपर्नेछ। प्राप्त आयलाई परिवारको पोषण स्थिति सुधार्न प्रयोग गरिने प्रतिवद्धता समेत महिलाहरूले जनाएका छन्।

​सभाध्यक्ष दिप बहादुर ऐडिले वडाका कुनै पनि सुनौला हजार दिनका आमा र बच्चा कुपोषणको शिकार हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले नवगठित ‘लालीगुराँस समूह’ लाई सफलताको शुभकामना दिँदै वडा कार्यालयबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो।

 

​कार्यक्रममा वडा सदस्यहरू सुकराम बुढा, बदमकली बुढा, भिम बहादुर बोहोरा लगायत कार्यपालिका सदस्य गोईली कामीको समेत सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय