सागर पाहडी, ​जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले लागू औषध ब्राउन सुगरसहित चार जना युवकलाई नियन्त्रणमा लिएको छ। नेपालगन्जबाट जाजरकोटतर्फ आउँदै गरेका उनीहरूलाई शिवालय गाउँपालिका–९, छेडाचौर बजारबाट पक्राउ गरिएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

​गत वैशाख १७ गते साँझ साढे ५ बजेको समयमा नसाको अवस्थामा भेटिएका उनीहरूलाई शंका लागेर प्रहरीले नियन्त्रणमा लिएको थियो। हिरासतमा राखी खानतलासी गर्ने क्रममा उनीहरूले लागू औषध लुकाउन अपनाएको शैली देखेर प्रहरी समेत चकित परेको छ।

​प्रहरीका अनुसार, ​सौगात सुनारले बोकेको झोलाभित्र रहेको नेत्र बहादुर सुनारको पाइन्टको खल्तीमा ३ पुरिया, ​सोही खल्तीमा रहेको सौगातको मोजाभित्र ५० रुपैयाँको नोटले बेरिएको १ पुरिया, ​नरेन्द्र सुनारले लगाएको जुत्ताको सोल मुनि लुकाइएको ३ पुरिया भेटिएको हो।

​यसरी सातवटा विभिन्न पोकाहरूमा गरी कुल ३ ग्राम ९९० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ।

​पक्राउ पर्नेहरू सबै जाजरकोट जिल्लाकै बासिन्दा हुन्, नलगाड नगरपालिका–७ का २० वर्षीय सौगात सुनार, सोही स्थानका २३ वर्षीय नरेन्द्र सुनार, सोही स्थानका २६ वर्षीय भुपेन्द्र सुनार र नलगाड नगरपालिका–२ का १८ वर्षीय कबि भनिने नेत्र बहादुर सुनार पक्राउ परेको प्रहरी निरीक्षक सुधीर खड्काले जानकारी दिनुभयो।

​लागू औषधका साथै प्रहरीले उनीहरूको साथबाट २१ हजार ९० रुपैयाँ नगद, ४ थान मोबाइल सेट (२ थान रेड्मी र २ थान सादा), स्टिलको प्लेट, ब्लेड र सिल्भर पेपरका टुक्राहरू समेत बरामद गरेको छ।

 

​जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर खड्काका अनुसार पक्राउ परेका चारै जनालाई (वैशाख २० गते) जिल्ला अदालत जाजरकोटबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय