Monday, November 2, 2026

मुगु । प्रकृति र खेलकुदको अनुपम संगम मानिने नेपालकै प्रसिद्ध रारा तालको प्राङ्गणमा यस वर्ष पनि ‘रारा ट्रेल रन’ को रौनक छाउने भएको छ। राराको सुन्दरतालाई विश्वमाझ चिनाउन र स्थानीय खेल प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बैशाख ३० गते प्रतियोगिताको छैटौं संस्करण आयोजना गरिँदैछ।

​नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटु ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। ‘एकताको दौड, संरक्षणको बाटो’ भन्ने मूल नाराका साथ यस पटकको दौड विशेष हुने अपेक्षा गरिएको छ।

​

​यस वर्ष प्रतियोगितालाई दुई मुख्य विधामा विभाजन गरिएको छ। ​मुख्य ट्रेल रन (१६ कि.मी.) रारा तालको वरिपरि १६ किलोमिटरको दुरीमा हुने यस दौडमा १८ देखि ४५ वर्ष उमेर समूहका करिब ६ सय महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ​रन फर फन (५ कि.मी.) १० देखि ६० वर्षसम्मका इच्छुक व्यक्तिहरूका लागि मनोरञ्जनात्मक ५ किलोमिटरको दौड आयोजना हुनेछ।

​

​विजेताहरूका लागि नगद पुरस्कारको आकर्षक व्यवस्था गरिएको गुल्मपति खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो:

​विजेतातर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित (साथमा मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ)

 

​धावकहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै आयोजकले उच्च सतर्कता अपनाएको छ।

​ हरेक ३ किलोमिटरमा मेडिकल टिम र माथिल्लो क्षेत्रमा एम्बुलेन्स तैनाथ रहनेछ। सहभागी प्रत्येक २० जना खेलाडीका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ। बाहिरबाट आउने खेलाडीका लागि स्थानीय होटल व्यवसायीहरूसँगको समन्वयमा उचित खानपान र बसोबासको प्रबन्ध मिलाइएको छ।

​

​यो केवल दौड मात्र नभई मुगुको कला-संस्कृति झल्काउने उत्सव पनि बन्नेछ। कार्यक्रममा नेपाली सेनाले खुकुरी नृत्य र फोटो प्रदर्शनी गर्नेछ भने राष्ट्रिय लोक दोहोरी समाज मुगुले स्थानीय सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

​

​प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूका लागि बैशाख १० गते देखि नै नाम दर्ता खुला भइसकेको छ। ७ लाख ५० हजार रुपैयाँको अनुमानित बजेट रहेको यस कार्यक्रमलाई पिएलवो, एलीभेट इनर्जी र स्थानीय पालिकाहरूले प्रायोजन गरेका छन्।

गुल्मपती खड्ग बहादुर श्रेष्ठले ​”यो प्रतियोगिताले कर्णालीको पर्यटन र युवा खेलकुदमा इँटा थप्ने मात्र नभई नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छौं।”

 

​प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जिल्लाका सबै निकायलाई यस महाकुम्भ सफल पार्न सहयोगको अपिल गर्नुभएको छ। राराको निलो पानी र हरियो वनस्पतिबीच दौडिने यो अभूतपूर्व अवसरले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षण गर्ने देखिएको छ।