Monday, November 2, 2026

जुम्ला । कर्णाली राजमार्गको सुरक्षा अवस्था सुदृढ बनाउन र जुम्ला लगायतका दुर्गम क्षेत्रमा प्रहरीको उपस्थिति प्रभावकारी बनाउन पहल सुरु भएको छ। जुम्लाबाट समानुपातिक पूर्व सांसद छिरिङ लामु लामा र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भएको विशेष छलफलपछि प्रहरीले तत्काल केही आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

​प्रहरी प्रधान कार्यालयमा करिब दुई घण्टा भएको विस्तृत छलफलमा पूर्व सांसद लामाले कर्णालीमा कार्यरत प्रहरी कर्मचारीहरूले न्यून स्रोतसाधन, कमजोर पूर्वाधार र जनशक्तिको अभावबीच पनि उच्च जोखिम मोलेर सेवा प्रवाह गरिरहेको विषय उठान गर्नुभएको थियो।

​

छलफलका क्रममा आईजीपी कार्कीले जुम्लाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल एउटा ‘वान्टन’ गाडी व्यवस्था गरी पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

​ सुर्खेतदेखि नाक्चे लाग्नासम्मको कर्णाली राजमार्ग क्षेत्रमा रहेका प्रहरी बिटहरूको अवस्था अनुगमन गर्ने र त्यहाँ देखिएका समस्या समाधान गर्न आईजीपीले सक्रियता देखाउनुहुने भएको छ।

​ दुर्गम क्षेत्रमा प्रहरीको सेवालाई गुणस्तरीय बनाउन आवश्यक उपकरण र थप जनशक्ति व्यवस्थापनका लागि प्राथमिकता दिइने आश्वासन प्राप्त भएको छ।

​भेटपछि पूर्व सांसद लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भन्नुभयो, “जनताको सुरक्षा कमजोर हुँदा राज्य बलियो हुन सक्दैन। कर्णाली राजमार्ग र जुम्लाको सुरक्षा सुदृढीकरणका लागि मैले औपचारिक मागहरू प्रस्तुत गरेको छु।”

​छलफलका क्रममा आईजीपी कार्कीले प्रहरी संगठनभित्र रहेका केही आन्तरिक समस्या र स्रोतको अभावबारे समेत अवगत गराउनुभएको थियो। सो विषयमा दुःख व्यक्त गर्दै पूर्व सांसद लामाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

​कर्णालीको कठिन भूगोल र चुनौतीपूर्ण सडक यात्रालाई सुरक्षित बनाउन राज्यको माथिल्लो तहबाट सुरु भएको यो सक्रियतालाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ। राम प्रकाश बि.क