जुम्ला ​गुठीचौर, जुम्ला सामाजिक कुरीति र कुसंस्कारलाई जरैदेखि उखेल्ने संकल्पका साथ गुठीचौर गाउँपालिका वडा नं. ५ मा बृहत् “र्याली तथा घरदैलो कार्यक्रम” सम्पन्न भएको छ। वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिको आयोजनामा बिहीबार देपालगाउँ र धिता गाउँका टोल-टोलमा पुगेर लैङ्गिक हिंसा, बालविवाह र छाउपडी प्रथा विरुद्ध सचेतना फैलाइएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

​कार्यक्रमको नेतृत्व गर्नुभएका वडा नं. ५ का वडा अध्यक्ष कमलबहादुर महतले समाज परिवर्तनका लागि भौतिक विकास मात्र नभई मानसिक चेतनाको विकास अपरिहार्य रहेको बताउनुभयो।

गुठीचौर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कमलबहादुर महतले ​”हाम्रो समाजमा अझै पनि बालविवाह र छाउपडी जस्ता प्रथाले जरो गाडेर बसेका छन्। जबसम्म मानिसको चेतनामा परिवर्तन आउँदैन, तबसम्म गाउँ समृद्ध बन्न सक्दैन। त्यसैले हामीले विकास निर्माणका कामसँगै यस्ता सचेतनाका कार्यक्रमलाई वडाको प्राथमिकतामा राखेका छौँ। यो एउटा र्याली मात्र होइन, समाज परिवर्तनको सुरुवात हो।”

 

​त्यस्तै, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले महिलामाथि हुने हिंसा र बालबालिकाको भविष्य बिगार्ने कुप्रथाहरू रोक्न पालिकाले वार्षिक रूपमै विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

महिला बालबालिका शाखा प्रमुख सुस्मिता थापाले ​”जनचेतनाको अभावमा अझै पनि कैयौँ बालिकाहरू बालविवाहको शिकार भइरहेका छन्। छाउपडी प्रथाले महिलाको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको छ। आगामी वर्षहरूमा पनि हामी यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढंगले घरदैलोसम्म पुर्याउनेछौँ ताकि कसैले पनि हिंसाको सामना गर्नु नपरोस्।”

​सचेतना कार्यक्रमकै क्रममा टोलीले धिता र देपालगाउँका घरधुरीमा पुगेर खानेपानी र शौचालयको अवस्थाबारे पनि अनुगमन गरेको थियो। खानेपानी शाखा प्रमुख ब्रम गिरीले दिएको तथ्याङ्क अनुसार,​ धीता गाउँमा ३२ घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ। तर, अनुगमनका क्रममा दुईवटा घरमा अझै शौचालय नभएको र केही घरमा शौचालय भए पनि प्रयोगमा नआएको वा खाडल मात्र खनिएको पाइएको छ।

​देपालगाउँ (माथिल्लो गाउँ) कुल १०३ घरधुरीमध्ये ७० घरमा खानेपानीको पहुँच पुगेको छ भने ६ वटा घरमा शौचालय निर्माण हुन बाँकी देखिएको छ। ​देपालगाउँ (तल्लो गाउँ) यहाँका १७१ घरधुरीमै घरघरमा स्वच्छ खानेपानी र शौचालयको राम्रो व्यवस्था रहेको पाइएको छ, जुन सरसफाइको दृष्टिकोणले नमूना मानिएको छ।

​कार्यक्रममा कृषि शाखा प्रमुख धर्मराज देवकोटा, न्यायिक शाखा प्रमुख गयाप्रसाद कुमाई, बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रमुख जग्गीप्रसाद धिताल, कालिका आधारभूत विद्यालयका शिक्षक कर्ण खत्री, वडा सदस्यहरू, स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

​समुदायमा व्याप्त कुरीति हटाउन र पोषणयुक्त समाज निर्माणका लागि वडाले चालेको यो कदमलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। सरसफाइ र सामाजिक न्यायका सवालमा यसरी घरदैलोमै पुग्ने अभियानले आगामी दिनमा गुठीचौरलाई ‘कुरीतिमुक्त’ बनाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय