जुम्ला । कर्णाली राजमार्गको तिलागुफा खण्डमा भइरहेको सडक मर्मत कार्यको विषयलाई लिएर सामाजिक सञ्जालमा फैलाइएका सामग्रीप्रति सडक डिभिजन कार्यालय जुम्लाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केही समयदेखि सामाजिक सञ्जालमा मर्मत कार्यको गुणस्तरमाथि प्रश्न उठाउँदै फोटो र भिडियोहरू सार्वजनिक भएपछि डिभिजन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त सामग्रीहरू भ्रामक रहेको स्पष्ट पारेको हो।



कार्यालयका अनुसार तिलागुफासहित जुम्ला डिभिजन अन्तर्गतका सबै सडक निर्माण र मर्मत कार्यहरू सडक विभागको मापदण्ड र सम्झौताअनुसार नै गुणस्तरीय ढङ्गले भइरहेका छन्।
बिना प्रमाण सामाजिक सञ्जालमा फैलाइएका यस्ता सामग्रीले इमान्दार कर्मचारीको छवि धमिल्याउने र उनीहरूको कार्यक्षमता तथा मनोबलमा समेत नकारात्मक असर पुर्याएको कार्यालयको ठहर छ।
डिभिजन कार्यालयले गलत सूचना फैलाएर विकास निर्माणमा अवरोध गर्ने र भ्रम सिर्जना गर्ने तत्वहरू विरुद्ध आवश्यक परे कानुनी उपचारमा जाने चेतावनी समेत दिएको छ।
कार्यालयले आम सर्वसाधारणलाई अपुष्ट र भ्रामक हल्लाको पछि नलाग्न र तथ्य बुझेर मात्र धारणा बनाउन अनुरोध गरेको छ।
सडक डिभिजन कार्यालय जुम्लाले ”कर्णालीको जटिल भूगोलमा समेत पारदर्शी र जवाफदेही भएर काम गरिरहेका छौँ, सडक सुरक्षा र गुणस्तरमा हामी कुनै सम्झौता गर्दैनौँ।”
सडक डिभिजन जुम्लाले दुर्गम क्षेत्रमा यातायात सहज बनाउन आफूहरू निरन्तर लागिपरेको भन्दै विकास निर्माणमा सहयोग गर्न सरोकारवाला सबैलाई अपिल गरेको छ।



