जुम्ला, वैशाख १५ । स्वदेशमा सम्भावना देख्ने हो भने परिवारसँगै बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण जुम्लाका एक कृषकले प्रस्तुत गर्नुभएको छ । गुठीचौर गाउँपालिका वडा नम्बर १ गडिगाउँ नापानीका ४७ वर्षीय धर्माजित बस्नेतले बङ्गुर पालन व्यवसायमार्फत गाउँमै सफलताको कथा लेखिरहनुभएको हो ।

गुठीचौर गाउँपालिका ५ को सुचना



विगत एक दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएका बस्नेतले २०७२ सालमा ‘रिमा कृषि तथा पशुपंक्षी पालन फर्म’ दर्ता गरी व्यवसायिक यात्रा सुरु गर्नुभएको थियो । सुरुमा मात्र २ वटा बङ्गुरबाट व्यवसाय थाल्नुभएका उहाँले पहिलो पटकमै ७० वटासम्म बङ्गुर पुर्याउन सफल हुनुभएको थियो । अहिले उहाँको फर्ममा ४५ वटा बङ्गुर रहेका छन् भने वनमा २७५ सम्म क्रस बङ्गुरहरु रहेको उहाँ बताउनुहुन्छ ।
”अहिले एउटा माउ बङ्गुरले ५ देखि ९ वटासम्म बच्चा दिने गरेको छ,” बस्नेतले खुसी हुँदै जानकारी दिनुभयो ।

सफलतासँगै बस्नेतले ठूला क्षति र चुनौतीको पनि सामना गर्नुभएको छ । पछिल्ला दुई वर्ष उहाँका लागि निकै कष्टकर रहे । २०८१ सालमा २० वटा बङ्गुर हराउँदा करिब १० लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुभएका बस्नेतले २०८२ सालमा पुनः १६ वटा बङ्गुर हराउँदा थप ८ लाखको क्षति भोग्नुपर्यो ।
व्यवसायमा चोरी वा हराउने मात्र होइन, अज्ञात रोगको प्रकोप पनि अर्को ठूलो चुनौती बनेको छ । “गएको पुस महिनामा मात्रै ४० वटा बङ्गुर मरे,” उहाँले दुखेसो पोख्दै भन्नुभयो, “गाउँपालिकाको पशुसेवा शाखामा जानकारी गराउँदा पनि रोगको पहिचान हुन सकेन ।” विशेष गरी माउभन्दा भाले जातका बङ्गुर बढी हराउने गरेको उहाँको अनुभव छ ।

तमाम चुनौतीका बाबजुद धर्माजितले हार मान्नुभएको छैन । बङ्गुर पालनकै आम्दानीबाट उहाँले घर बनाउँदा लागेको १० लाख रुपैयाँ ऋण तिरिसक्नुभएको छ । साथै चन्दननाथ बहुउद्देश्यीय सहकारी र नेशनल लघुवित्तबाट लिएको ऋण तिर्न पनि यही व्यवसायले सहज बनाएको छ ।
आठ जनाको परिवारलाई यही व्यवसायको भरमा खुसीका साथ पालिरहनुभएका बस्नेत भन्नुहुन्छ, “पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, स्वदेशमै पसिना बगाउने हो भने परिवारसँगै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ ।” अहिले सबै खर्च कटाएर वार्षिक ३ देखि ४ लाख रुपैयाँसम्म बचत भइरहेको उहाँले बताउनुभयो ।
बस्नेतको यो मेहेनतलाई कर्णाली प्रदेश सरकार र गुठीचौर गाउँपालिकाले पनि कदर गरेको छ । दुवै निकायबाट सम्मानित हुनुभएका उहाँले राज्यको यो सम्मानले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो ।
दुर्गम भेगमा रहेर पनि व्यावसायिक रूपमा अघि बढ्नुभएका धर्माजित बस्नेत आज धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । रोग र चोरी जस्ता समस्यामा स्थानीय सरकारले थप निगरानी र प्राविधिक सहयोग गरिदिए यो व्यवसाय अझै फस्टाउने देखिन्छ ।





