जुम्ला, गुठीचौर । “आफ्नै छोराछोरीले गराउन नसकेको तीर्थयात्रा वडा सरकारले गराइदियो, अब मरे पनि केही अधुरो रहने छैन,” जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ३ की एक जेष्ठ नागरिकले आँखाभरि खुसीका आँसु पार्दै भनिन्।
यो खुसी गुठीचौर-३ का ७८ जना जेष्ठ नागरिकहरूको सामूहिक भावना हो, जो हालै मुक्तिनाथको धार्मिक भ्रमण सफलतापूर्वक सम्पन्न गरेर घर फर्किएका छन्। वडा कार्यालयको आयोजना र गाउँपालिकाको सहयोगमा ६० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गराइएको हो।
अनुभवको खानीलाई सम्मानको उपहार
समाजका मार्गदर्शक र अनुभवका खानी मानिने जेष्ठ नागरिकहरूलाई सम्मान र सेवाभाव प्रकट गर्न वडाले यो विशेष कार्यक्रम तय गरेको थियो। वडाध्यक्ष इन्द्र बुढाको अगुवाइमा भएको यस यात्राले जेष्ठ नागरिकहरूमा नयाँ उत्साह र ऊर्जा थपेको छ।
यात्राको व्यवस्थापनबारे बोल्दै वडाध्यक्ष बुढाले भन्नुभयो”हाम्रा अभिभावकको सपना साकार पार्नु हाम्रो कर्तव्य हो। सबै जेष्ठ नागरिकहरूको सल्लाहअनुसार नै हामीले यो कठिन तर पुण्यको यात्रा तय गरेका थियौँ। सबैलाई सकुशल घर फर्काउन पाउँदा म अत्यन्तै हर्षित छु।”
जेष्ठ नागरिकहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै भ्रमण टोलीमा स्वास्थ्यकर्मी र कर्मचारीहरूको विशेष टोली परिचालन गरिएको थियो। गाउँपालिकाका कर्मचारी हरिश्चन्द्र गिरी र आधारभूत स्वास्थ्य चौकीकी अनमी टिका भण्डारीले यात्राभर जेष्ठ नागरिकहरूको हेरचाह गर्नुभएको थियो।
वडा र गाउँपालिकाको समन्वय
सुरुमा रारा भ्रमणको योजना बनाइएको भए तापनि जेष्ठ नागरिकहरूको इच्छा मुक्तिनाथ पुग्ने भएपछि कार्यक्रम परिमार्जन गरिएको थियो। लामो र खर्चिलो यात्रा भएकाले वडाको ७ लाख र गाउँपालिकाको थप ९ लाख गरी कुल १६ लाख रुपैयाँको लागतमा यो भ्रमण सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले वडाध्यक्ष इन्द्र बुढाको कार्यशैलीको प्रशंसा गर्दै भन्नुभयो, “सामाजिक क्षेत्रमा सबैको पहुँच पुग्ने यस्ता कार्यक्रम ल्याउनु गौरवको कुरा हो। जेष्ठ नागरिकलाई ‘जिउँदो स्वर्ग’ मानिने मुक्तिनाथ पुर्याउने प्रस्ताव आएपछि हामीले बजेटको अभाव हुन दिएनौं।”
भ्रमणका भावुक र अविस्मरणीय पलहरू
यात्रामा सहभागी जेष्ठ नागरिकहरूले वडा सरकारलाई ‘आशीर्वादको ओहिरो’ नै लगाएका छन्।
जोन बुढाले “आर्थिक अवस्था कमजोर भएकाले मुक्तिनाथ देख्ने आशा मारिसकेको थिएँ। तर वडाको सहयोगमा यो ऐतिहासिक यात्रा सम्भव भयो, म कहिल्यै बिर्सने छैन।”
हर्कबहादुर बुढाले “मलाई दमरोग थियो, पुग्न सकिँदैन कि भन्ने डर थियो। तर वडाध्यक्षको आत्मबल र सहयोगले भगवान् दर्शन गर्न सफल भएँ। म धेरै खुसी छु।”
मेजम तामाङले यो कार्यक्रमलाई ‘सफलताको शिखर’ भन्दै वडाध्यक्षलाई निरन्तर सफलताको शुभकामना दिनुभयो।
मुक्तिनाथ: धार्मिक सहिष्णुताको केन्द्र
समुद्री सतहदेखि ३,७१० मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। हिन्दूहरूले यसलाई विष्णुको निवास र १०८ शक्तिपीठमध्ये एक मान्छन् भने बौद्ध धर्मावलम्बीहरू यसलाई ‘छुमिङ ग्यात्सा’ (सयवटा पानीका धारा) का रूपमा पुज्ने गर्छन्। यहाँका १०८ धारामा स्नान र लक्ष्मी-सरस्वती कुण्डमा डुबुल्की मार्नाले पाप पखालिने जनविश्वास छ।
स्थानीय छिरिङ तामाङका अनुसार, यहाँ बौद्ध आनी (झुमा) हरूले मन्दिरको पूजाआजा र व्यवस्थापन गर्नु विश्वकै लागि धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो।
गुठीचौर गाउँपालिकाले जेष्ठ नागरिकहरूका लागि गरेको यो लगानी केवल भ्रमण मात्र नभएर उनीहरूको आत्मसम्मान र आस्थाप्रतिको कदर पनि हो। “मुक्तिनाथ, चन्दनाथ र भैरवनाथले सबैको रक्षा गरून्” भन्ने संकल्पका साथ समापन भएको यो यात्राले स्थानीय सरकार जनताको सुख-दुःखको साथी हो भन्ने कुरा पुनः पुष्टि गरेको छ।






