अछाम । एउटा परिवारको चुलो बाल्न र पशुचौपाया पाल्न गरिएको सामान्य सङ्घर्षले कतिबेला ठूलो पछार दिन्छ, कसैले भन्न सक्दैन। अछामको तुर्माखाँद गाउँपालिकाका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाका लागि बिहीबारको साँझ जीवनकै अन्तिम सङ्घर्ष बनिदियो। सुर्खेतबाट एक भारी घाँस लिएर डुङ्गामा कर्णाली तर्दै गर्दा बीच नदीमा डुङ्गा पल्टिएपछि बाबु-छोरा अहिलेसम्म बेपत्ता छन्।
के भएको थियो घटना?
साँझको धमिलो उज्यालोमा आफ्नै हातले डुङ्गा खियाउँदै पहलसिंह छोरा र घाँसको भारीसहित घर फर्कँदै थिए। तर, कर्णालीको बीच भागमा पुगेपछि अचानक डुङ्गा अनियन्त्रित भई पल्टियो। क्षणभरमै कर्णालीको उर्लँदो भेलले बाबु-छोरालाई आफूसँगै बगायो।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओम प्रकाश खनालले ”प्रारम्भिक अनुसन्धानले डुङ्गा सन्तुलन गुमाएर पल्टिएको देखाएको छ। हामीले खोजी कार्यलाई उच्च प्राथमिकतामा राखेका छौँ।”
खोजी कार्यमा चुनौती र परिचालन
घटना लगत्तै परिचालन गरिएका सुरक्षा निकायका आधा दर्जन युनिटहरू अहिले पनि नदी किनार र सम्भावित क्षेत्रमा केन्द्रित छन्।
नेपाल प्रहरीले चार वटा छुट्टाछुट्टै युनिट परिचालन परिचालन गरेको छ भने, सशस्त्र प्रहरी प्रहरीले पनि विपद् उद्धारका लागि विशेष तालिमप्राप्त टोली घटनास्थलमा खटिएको छ।
कर्णालीको तीव्र बहाव र विकट भौगोलिक बनावटले गर्दा उद्धार टोलीलाई मुख्य कठिनाइ भइरहेको छ।
अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाको अवस्था अझै अज्ञात छ।
कर्णालीको किनारमा उभिएर परिवार र आफन्तहरू अहिले पनि कुनै चमत्कारको पर्खाइमा छन्। एक भारी घाँसका लागि ज्यानकै बाजी थापेर नदी तर्नुपर्ने बाध्यताले दुर्गमको पीडादायी यथार्थलाई फेरि एकपटक उदाङ्गो पारिदिएको छ। राम प्रकाश बि.क






