सागर पाहडी, जाजरकोट । आइतबार बिहान १० बजे नलगाड नगरपालिका–२ छेप्काका एकै परिवारका लागि एउटा “कालो दिन” बनेर आयो। भान्सामा ग्यास लिक भई दन्किएको आगोले माया जैशी, उनका छोरा गणेश र बहिनी रुपालाई मात्र जलाएन, सिंगो परिवारको खुसी खरानी बनायो। तर, यो विपदमा सरकार र नेताहरूको जुन व्यवहार देखियो, त्यसले आगोको जलनभन्दा बढी मन पोल्ने बनाएको छ।

 

गुठीचौर गाउँपालिका ५ को सुचना

​’नगद बुझाऊ, अनि मात्र हेलिकप्टर उड्छ’

​घाइतेहरूको अवस्था गम्भीर थियो। दल्लीस्थित नगर अस्पतालले तत्काल काठमाडौँ लैजान सिफारिस गर्‍यो। जिल्ला प्रशासनले गृह मन्त्रालयलाई खबर त गर्‍यो, तर एउटा निर्मम सर्तसहित “हेलिकप्टरको खर्च परिवार आफैँले तिर्नुपर्नेछ।”

​नेपाली सेनाको नियमअनुसार भाडा पहिले नै जम्मा नभई हेलिकप्टर उड्दैन। जबसम्म पीडितका आफन्तले आफ्नो गोजीबाट ४ लाख ४ हजार रुपैयाँ जोहो गरेर सेनाको खातामा जम्मा गरेनन्, तबसम्म उद्धारको “पखेटा” पलाएन। बिहान १० बजे घाइते भएका उनीहरूले दिउँसो २ बजेसम्म रकमको जोहो र प्रशासनिक झन्झटमै समय बिताउनु पर्यो।

​ऋणको भारीमाथि ‘सस्तो प्रचार’ को राजनीति

​विडम्बना त त्यहाँ देखियो, जहाँ परिवारले ऋणधन गरेर पैसा तिरे, तर सामाजिक सञ्जालमा भने “हाम्रो नेताको पहलमा उद्धार भयो” भन्दै भ्रमको खेती सुरु भयो।

​”यदि परिवारले पैसा तिर्न नसकेको भए सेनाको हेलिकप्टर आउने नै थिएन। जिल्ला प्रशासनमा जानकारी दिनुलाई नै ‘उद्धार’ भन्नु लाजमर्दो कुरा हो,” स्थानीय देवीलाल ओली आक्रोश व्यक्त गर्छन्। “उद्धार त सरकारले खर्च व्यहोरेको भए पो हुन्थ्यो, यहाँ त पीडितलाई ऋण बोकाएर नेताहरू फोटो प्रदर्शनी गरिरहेका छन्।”

 

​कुरुप ऐना र मानवीय संवेदनाको खडेरी

​यो घटनाले हाम्रो समाज र राजनीतिको एउटा कुरुप तस्बिर छताछुल्ल पारेको छ। आफ्नै बुताले उपचार खोजिरहेका नागरिकको बाध्यतालाई ‘सस्तो लोकप्रियता’ को माध्यम बनाइनु मानवीय संवेदना माथिको प्रहार हो।

​आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीहरु तीनै जनाको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भैइरहेको परिवारले जनाएका छन् ।

नेपालगञ्जसम्म पुर्‍याउँदा ४ लाख ४ हजार रुपैयाँ (परिवारद्वारा) भुक्तानी भएको छ।

​सम्पादकीय टिप्पणी: विपद्को बेला समन्वय गरिदिनु जनप्रतिनिधिको न्यूनतम कर्तव्य हो। तर, जनताले आफ्नै रगत-पसिनाको पैसा खर्चेर गरेको उद्धारमा ‘मेरो पहल’ भन्दै क्रेडिट लिनु राजनीतिक टाटपल्टाई बाहेक केही होइन। पीडामा परेको परिवारलाई सहानुभूति दिनुको सट्टा श्रेय लिन दौडिने प्रवृत्तिको अन्त्य कहिले होला?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय