Monday, November 2, 2026

खलङ्गा, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ स्थित गर्ज्याङकोट (धापाखेत) मा रहेको एक नमुना स्याउ फर्ममा भिषण आगलागी भएको छ। ‘अर्गानिक एप्पल एन्ड फर्म’ मार्फत कृषि प्रणालीको उत्कृष्ट नमुना खडा गरेका स्थानीय कृषक हरिबहादुर भण्डारीको बगैँचामा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको हो।

​

​२०८२ साल चैत १३ गते दिउँसो करिब १२:५० बजे अकस्मात सुरु भएको आगलागीले छोटो समयमै उग्र रूप लिएको थियो। हिउँदको समयमा बगैँचामा रहेको सुक्खा घाँसका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ।

​घटनाको जानकारी प्राप्त हुनासाथ धनमुडी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक ताराबहादुर डाँगीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दा र प्रहरीको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

​

​बगैँचाका सञ्चालक हरिबहादुर भण्डारीका अनुसार आगलागीबाट फल दिइरहेका ३०० वटा स्याउका रुख पूर्ण रूपमा जलेर नष्ट भएका छन्। उहाँका  अनुसार   ​अनुमानित आर्थिक क्षति करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ

​  झण्डै २ हजार वर्ग मिटरमा फैलिएको उत्पादनशील क्षेत्र रहेको बगैँचामा आगलागी भएको हो।

​”वर्षौँको मेहनत र पसिना बगाएर हुर्काएका बिरुवाले फल दिन थालेका थिए, ठ्याक्कै आम्दानी लिने बेलामा दैवी विपत्ति आइलाग्यो,” सञ्चालक भण्डारीले भावुक हुँदै भन्नुभयो, “बगैँचामा सुक्खा घाँस धेरै भएकाले आगो नियन्त्रण गर्न गाह्रो भयो र धेरै क्षति पुग्यो।”

​

आगलागी भएको उक्त क्षेत्र गुठीचौर गाउँपालिका वडा नं ५ कुम्डीबाट करिब ३–४ किलोमिटर पश्चिममा पर्दछ।  ​आगलागी कसरी र कुन स्रोतबाट सुरु भयो भन्नेबारे अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। जुम्लामा पछिल्लो समय सुक्खा मौसमका कारण आगलागीका घटनाहरू बढ्दै गएकाले कृषकहरूलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।