सागर बि.क, जाजरकोट | नलगाड नगरपालिका–२, छेपकास्थित ठालुप्रसाद गौतमको घरमा आज बिहान भीषण आगलागी भएको छ। खाना पकाउने ग्यास सिलिन्डर लिक भएर भएको उक्त दुर्घटनामा परी एकै परिवारका सदस्यसहित तीन जना घाइते भएका छन्।
बिहान १०:१५ बजे समयमा नलगाड नगरपालिका–२, छेपका (थालुलुप्रसाद गौतमको घरमा) खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ हवल्दार हरि चपाईँले जानकारी दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका वरिष्ठ हवल्दार हरि चपाईंका अनुसार घाइते हुनेहरूमा, माया जैसी (४२ वर्ष) ठालुप्रसादकी श्रीमती (अवस्था गम्भीर), रूपा जैसी (३७ वर्ष) मायाकी बहिनी/साली (अवस्था गम्भीर) र गणेश गौतम (२२ वर्ष) ठालुप्रसादका छोरा (सामान्य घाइते) भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका दुई महिलालाई तत्काल नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज पुर्याइएको छ। नेपालगञ्ज विमानस्थलबाट थप उपचारका लागि जहाजमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
आगलागीको खबर प्राप्त हुनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको अथक प्रयासपछि बिहान १०:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट घर र अन्य धनमालमा भएको भौतिक क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जाडो मौसममा वा बन्द कोठामा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउन आवश्यक देखिन्छ।






