Sunday, August 9, 2026 | 11:00:35 PM

जुम्ला, २५ चैत । जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ५ लाई पोषणमैत्री वडा घोषणा गर्ने अभियानले तीव्रता पाएको छ। “कुपोषणको अन्त्य, मानव पूँजी निर्माण र समग्र सामाजिक-आर्थिक विकास” भन्ने मूल मन्त्रका साथ बुधबार वडा नं. ५ मा आयोजित सरोकारवाला निकाय तथा समुदायमा आधारित समूहहरूको अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

​वडालाई पोषणमैत्री बनाउनका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, आमा समूह, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूले एकमतले ११ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै साझा संकल्प गरेका हुन्।

​अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गुठीचौर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कमलबहादुर महतले कुपोषणमुक्त समाज नै विकासको मुख्य आधार स्तम्भ भएको बताउनुभयो। उहाँले पोषणमैत्री वडा घोषणा गर्नका लागि वडा र गाउँपालिका सरकारले पर्याप्त बजेट विनियोजन गरिसकेको जानकारी दिँदै भौतिक पूर्वाधार भन्दा पनि मानवीय विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।

अध्यक्ष महतले भन्नुभयो, ​”हामीले वडालाई पोषणमैत्री घोषणा गर्न सक्यौँ भने त्यो नै हाम्रो वडाको पहिलो र वास्तविक विकास हुनेछ,”  “यो अभियानमा स्थानीय नागरिकदेखि जिम्मेवार पदमा रहेका सबैको भूमिका उत्तिकै रहन्छ। ५ नम्बर वडालाई कर्णालीकै दोस्रो पोषणमैत्री वडाका रूपमा चिनाउन सबैले आ-आफ्नो कर्तव्य पूरा गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”

​कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले पोषणमैत्री वडाका सूचकहरूको अवस्था र प्रगतिका बारेमा जानकारी गराएका थिए।

​ प्राविधिक सहायक लक्ष्मी अधिकारीका अनुसार शाखाले गर्नुपर्ने तीन मुख्य कार्यमध्ये एउटाको मात्र कागजी प्रक्रिया बाँकी रहेको छ। पालिकाका सबै वडामा गाई, भैँसी, कुखुरा र बाख्रा वितरण गरिएको र हाल पोषणका लागि आवश्यक पर्ने दूध, अण्डा र मासुको प्रयोग ९० प्रतिशत पुगेको उहाँले बताउनुभयो। एक स्वस्थ मानिसका लागि वार्षिक ५१ लिटर दूध, १५० वटा अण्डा र १४ केजी मासु आवश्यक पर्ने उहाँको भनाइ छ।

​ शाखा प्रमुख बरम गिरीले खानेपानीका सूचकहरू पनि ९० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो। वडा नं. ५ का घरघरमा धारा पुगेको र स्वच्छ पानीको पहुँच सुनिश्चित भइरहेको उहाँले बताउनुभयो।

​ यस शाखाका अधिकांश सूचकहरू सन्तोषजनक रहे पनि बालविवाह अझै विकराल रूपमा रहेको र २० वर्ष मुनि बच्चा जन्माउने दर घटाउन चुनौती भइरहेको शाखाले जनाएको छ। यद्यपि, अन्य सूचकमा ९० प्रतिशत प्रगति हासिल भएको छ।

 स्थानीयलाई हरियो सागसब्जी र पोषणयुक्त खानपानमा आत्मनिर्भर बनाउन ग्रीन हाउस वितरण गरिएको र यसको कार्यान्वयन ९० प्रतिशत सफल भएको जानकारी दिइयो।

​शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेमराज खनालले दिवा खाजालाई स्थानीय रैथाने उत्पादनमै आधारित बनाउन जोड दिइएको बताउनुभयो। सप्ताहव्यापी कार्यक्रम र विद्यालय व्यवस्थापन समितिको सक्रियताले शैक्षिक क्षेत्रका सूचक पनि लक्ष्यको नजिक रहेको उहाँको भनाइ छ।

 

​चुनौती र समाधान: शौचालयको समस्या

​अनुगमनका क्रममा वडा नं. ५ मा अझै १८ घरधुरीमा शौचालय नभएको पाइएको पोषण सहजकर्ता जग्गीप्रसाद धितालले जानकारी दिनुभयो। उहाँले पोषणमैत्री वडा घोषणाका लागि पूर्ण सरसफाई अनिवार्य सर्त भएकोले यस समस्या समाधानमा वडा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

 

​११ बुँदे सामूहिक प्रतिबद्धता

​१. सबै बालबालिकालाई अनिवार्य विद्यालय जाने वातावरण सृजना गरी गुणस्तरीय शिक्षाको व्यवस्था गर्नेछौँ।

२. नि:शुल्क तथा गुणस्तरीय उपचारका लागि वडामा भएका स्वास्थ्य संस्थामार्फत गुणस्तरीय स्वास्थ्य र पोषण सेवाको सुनिश्चितता गर्नेछौँ।

३. गर्भवती, सुत्केरी आमा र बालबालिकालाई पोषण प्रोत्साहन पोषिलो सामाग्रीको उपलब्धताको लागि विशेष कार्यक्रममा सहयोग गर्नेछौँ।

४. २ वर्ष मुनिका बालबालिकाहरूको वृद्धी अनुगमनको प्रभावकारीताको लागि बाल पोषण अनुदानसँग आवद्धता गरी वितरण र ठोस कार्यक्रम संचालन गर्ने।

५. सुरक्षित खानेपानी र सरसफाई व्यवस्था सुनिश्चित गर्नेछौँ र पूर्ण सरसफाई अभियान संचालन गर्ने।

६. विभिन्न तहमा भएका प्रतिबद्धता, कार्य योजना र समन्वय संयन्त्र सहित कार्यान्वयनको सुनिश्चितताका लागि सहयोगी निकायबाट प्राप्त सहयोगलाई समेत मूल्याङ्कन गरी प्रभावकारी अनुगमन गर्ने।

७. सबै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता गर्ने छौँ।

८. बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक श्रोतका साथै प्राप्त अनुदानको निश्चित रकम लगानी गर्नेछौँ।

९. यो योजना सञ्चालन गर्न संघीय, प्रादेशिक, अन्य स्थानीय तह लगायत विकास साझेदार एवम् सरोकार निकाय सँग सार्थक समन्वय गर्नेछौँ।

१०. समाजमा विद्यमान कुरीति जस्तै: बालविवाह र छुवाछुत जस्ता संस्कार र विकृती अन्त्यका लागि ठोस नियम र कार्यक्रम तय गरी कार्यान्वयन गर्नेछौँ।

११. स्वस्थ, सफा र पोषण मैत्री घर, गाउँ, टोल र पोषणमैत्री वडा अभियान सञ्चालन गर्दै आगामी ४ वर्ष भित्र यस पालिकालाई पोषणमैत्री स्थानीय शासन कार्यविधि, २०७८ बमोजिमको प्रक्रिया पूरा गरी पोषणमैत्री स्थानीय तह घोषणा गर्नेछौँ।

​नेपालको संविधान र स्थानीय सरकारको अधिकार बमोजिम नागरिकको पोषण अधिकारलाई उच्च प्राथमिकता दिँदै यो अभियानलाई घरघरमा पुर्‍याउने लक्ष्य राखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय