सुर्खेत | पछिल्लो केही समयदेखि ठप्प रहेको सुर्खेत बसपार्कको यातायात सेवा अन्ततः सुचारु भएको छ। यातायात व्यवसायी र स्थानीय प्रशासनबीच भएको निर्णायक वार्तामा यात्रुको हित र सुरक्षालाई केन्द्रमा राख्दै १० बुँदे सहमति भएपछि सेवा पूर्ववत् अवस्थामा फर्किएको हो।
यातायात सेवालाई थप मर्यादित, यात्रुमैत्री र व्यवस्थित बनाउन दुवै पक्षले लिखित बुँदाहरू पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्:



यात्रुले अब स्वेच्छिक रूपमा तोकिएको काउन्टरबाट मात्र टिकट काट्न पाउनेछन्। सवारी साधनले अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने र तोकिएको भाडादर भन्दा बढी लिन नपाइने व्यवस्था गरिएको छ।
सार्वजनिक क्षेत्रमा जथाभावी पार्किङ गर्न निषेध गरिएको छ। बसपार्कबाट बाहिर निस्किसकेपछि गाडीहरू सिधै गन्तव्यतर्फ लाग्नुपर्नेछ; बाहिरबाट यात्रु टिपेर पुनः बसपार्क भित्र ल्याउन पाइने छैन।
स्वीकृत सिट संख्याभन्दा बढी यात्रु बोक्न पाइने छैन। साथै, गाडीको सिट संख्यामा कुनै पनि प्रकारको थपघट वा मोडिफिकेसन गर्न रोक लगाइएको छ।
जुन प्रयोजनका लागि सवारी साधन दर्ता भएको हो, सोही कार्यमा मात्र प्रयोग गर्नुपर्ने सहमति भएको छ।
गत २०८२/१२/१९ गते भएको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा बसेर वस्तुनिष्ठ निष्कर्ष निकाल्ने सहमति भएको छ। सोही सहमतिको आधारमा २० गते बिहानैदेखि बन्द रहेको यातायात सेवा तत्कालै सञ्चालनमा ल्याइएको हो।
सम्बद्ध निकायले ”यो सहमतिले सुर्खेतको यातायात क्षेत्रलाई थप व्यावसायिक र व्यवस्थित बनाउने विश्वास लिइएको छ। यात्रुको सास्ती अन्त्य हुनु नै हाम्रो मुख्य उपलब्धि हो।”
यात्रु महानुभावहरूलाई अब ढुक्क भएर सेवा लिन र असहजता भएमा प्रशासनमा जानकारी गराउन समेत अनुरोध गरिएको छ।



