Monday, November 2, 2026

राम प्रकाश वि,क, जुम्ला चैत १७ गते । हिमाली क्षेत्रको ’सेतो सुन’ मानिने बहुमूल्य जडिबुटीहरू उचित व्यवस्थापन र चेतनाको अभावमा लोप हुने संघारमा पुगेका छन्। जुम्लाको गुठिचौर गाउँपालिकामा अव्यवस्थित संकलनले जडिबुटीको स्रोत नै रित्तिएपछि अहिले स्थानीय सरोकारवालाहरू संरक्षणको साझा एजेन्डामा एकजुट भएका छन्।


एन्साब (ब्ल्क्ब्द्य) जुम्लाको समन्वयमा गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ का संकलक, व्यापारी, सामुदायिक वनका पदाधिकारी र जनप्रतिनिधिहरूबीच भएको वृहत् अन्तरक्रियाले जडिबुटीको दिगो भविष्यका लागि मार्गचित्र कोरेको छ।
अन्तरक्रियाका क्रममा सरोकारवालाहरूले जडिबुटी विनाशका कारुणिक तथ्यहरू प्रस्तुत गरे। वनधारा सामुदायिक वनका अध्यक्ष भिम बहादुर बोहोराका अनुसार, विगतमा प्रचुर मात्रामा पाइने जडिबुटीहरू अहिले खोज्नुपर्ने अवस्थामा पुगेका छन्। “गुठिचौर जडिबुटीका दृष्टिले निकै समृद्ध क्षेत्र हो, तर अहिले जथाभावी संकलनले गर्दा पाटनहरू रित्तिँदै गएका छन्,“ उहाँले चिन्ता व्यक्त गर्नुभयो।
स्थानीय जडिबुटी व्यापारी रतन बोहोराले संकलनको समय पालना नहुनुलाई मुख्य समस्याका रूपमा औंल्याउनुभयो। उहाँका अनुसार, असार महिनामा मात्र संकलन गर्नुपर्ने यो जडिबुटी बढी आम्दानीको लोभमा जेठमै उखेल्ने गरिन्छ। बिउ नझर्दै वा बिरुवा परिपक्व नहुँदै संकलन गर्दा अर्को वर्ष उक्त क्षेत्रमा पुनः उत्पादन हुन सक्दैन।
जडिबुटीको यो बेहाल अवस्थालाई रोक्न गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले कडा कदम चाल्ने घोषणा गर्नुभएको छ। उहाँले अब “कार्यविधि“ बनाएर मात्र संकलन गर्न दिइने बताउनुभयो। अध्याक्ष वुढाले “जडिबुटी हाम्रो समुदायको प्रमुख आयस्रोत हो, तर स्रोत नै नष्ट भएपछि आयस्रोत कहाँबाट आउँछ? अब हामी सवडिभिजन वन कार्यालय र एन्साबको प्राविधिक सहयोगमा ’जडिबुटी दिगो संकलन तथा व्यवस्थापन कार्यविधि’ निर्माण गर्छौं। यसलाई गाउँसभा वा कार्यपालिकाबाट पारित गरी कडाइका साथ कार्यान्वयनमा ल्याइने उहाँको दावि छ।

“एन्साब जुम्लाका प्रमुख प्रवेश कक्षपतिले जडिबुटीको अन्तर्राष्ट्रिय बजार र यसको प्रमाणीकरण (ऋभचतषष्अबतष्यल) को महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार, जडिबुटीलाई केवल संकलन गर्ने मात्र नभई यसको दिगोपन सुनिश्चित गर्न कुन जडिबुटी कुन महिनामा मात्र टिप्ने भन्ने तालिका अनिवार्य बनाउनुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको संकलन प्रक्रिया अपनाएमा जडिबुटीको मूल्य पनि बढी पाइने कुराहरूमा ध्यान दिनु आवश्यक छ। एन्साबले गुठिचौरका पाँच वटा सामुदायिक वनसँग सहकार्य गरी संरक्षणका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।


छलफलको निष्कर्ष स्वरूप जडिबुटी बचाउन संकलकहरूलाई जडिबुटी उखेल्ने सही तरिका र समयबारे तालिम दिने, सामुदायिक वन उपभोक्ता समितिहरूले संकलन अवधिमा वन क्षेत्रमा कडा निगरानी राख्ने, संकलन मात्र नभई जडिबुटीको खेती गर्नेतर्फ पनि कृषकहरूलाई प्रोत्साहित गर्ने, संकलक, स्थानीय व्यापारी र ठूला निर्यातकर्ताहरूबीच पारदर्शी मूल्य प्रणाली विकास गर्ने, संकलन गर्दा केही प्रतिशत बिरुवाहरू बिउका लागि अनिवार्य रूपमा छोड्नै पर्ने नियम बनाउने लगाएतका बुँदाहरूमा सहमति जनाइएको छ।
जुम्लाको पहिचान र आर्थिक आधारका रूपमा रहेका जडिबुटी जोगाउनु केवल वन कार्यालय वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व हो। गुठिचौरबाट सुरु भएको यो अभियानले जिल्लाभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।