Monday, November 2, 2026

गुठीचौर, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले आफ्नो २२ औँ गाउँसभा सोमबार भव्यताका साथ सम्पन्न गरेको छ। गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने उद्देश्यका साथ सभाले महत्वपूर्ण पाँचवटा कार्यविधिहरू पारित गरेको छ।
गुठीचौर गाउँपालिकाले पाँचवटा कार्यविधि पारित गरेको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाका अनुसार सभाले सवारी साधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२, पालिकाका सवारी साधनको समुचित प्रयोग र मर्मत सम्भारका लागि कानुनी दायरा पूरा गर्नका लागि कार्यविधि बनाइएको हो।


एकीकृत पशुपक्षी विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२, कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिक वृद्धिका लागि एक कार्यविधि बनाएको छ। विपद राहत वितरण सम्बन्धी मापदण्ड, दैवी प्रकोप र आपत्कालीन अवस्थामा न्यायोचित राहत वितरणका लागि गर्नका लागि यो मापदण्ड बनाइएको हो। लेखा समिति गठन तथा सञ्चालन कार्यविधिः आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न यो कार्यविधि बनाइएको छ। गुठीचौर एफएम सञ्चालन तथा व्यवस्थापन कार्यविधि (संशोधन), २०८२, स्थानीय सञ्चार माध्यमलाई थप प्रभावकारी बनाउन कार्यविधि तथा मापदण्डहरूलाई स्वीकृत गरेको छ।


गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले सुशासन आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। गाउँसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले कामकाजमा सहजता ल्याउन र पद्धति बसाल्न यी कार्यविधिहरू पास गरेका हौँ। अध्यक्षले आफ्नै फाइदाका लागि बजेट विनियोजन गर्यो भन्ने भ्रममा कोही पनि नपर्नुहोला। विनियोजित हरेक पैसा जनताको हित र गाउँपालिकाको समृद्धिका लागि हो, व्यक्तिगत स्वार्थका लागि होइन।“


उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले सभाले नीतिगत निर्णय मात्र नभई कार्यान्वयनका पक्षमा पनि ठोस कदम चालेको बताउनुभयो। सभाले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा, चालु आर्थिक वर्षको आयव्यय समीक्षा, अनुगमन, करार तथा स्थानीय कर्मचारीको तलब व्यवस्थापन र राजस्व संकलनका योजनाहरूमा समेत महत्वपूर्ण निर्णय गरेको छ।


लेखा समिति गठनः धर्मलाल जैसीको संयोजकत्वमा नयाँ टोली
आर्थिक पारदर्शितालाई सुदृढ बनाउन सभाले धर्मलाल जैसीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ। समितिका सदस्यहरूमा रामलाल रोकाया र शिव कृष्ण बुढा चयन हुनुभएको छ। यो समितिले पालिकाको खर्चको लेखाजोखा गर्ने र आर्थिक अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

२२ औँ गाउँसभाले पारित गरेका यी कानुन र नीतिहरूले गुठीचौर गाउँपालिकालाई “डिजिटल र सुशासित पालिका“ बनाउने अभियानमा एउटा बलियो इँटा थपेको छ। जनप्रतिनिधिहरूको यो सक्रियताले स्थानीय तहमा कानुनी राज्य र विकासको नयाँ लहर आउने अपेक्षा नागरिकले गरेका छन्।