जुम्ला, १६ चैत । जुम्ला सदरमुकाम खलंगाको कालेखोलीस्थित एक होटलमा सार्वजनिक रूपमै जातीय विभेद गर्ने र समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिने कविता बुढालाई तत्काल कारबाही गर्न नेपाल पत्रकार महासंघ जुम्ला शाखाले जोडदार माग गरेको छ।
आइतबार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै, पत्रकारिताको धर्म निभाउँदा पत्रकारमाथि गरिएको अभद्र व्यवहार र धम्कीप्रति घोर आपत्ति जनाइएको हो।



गएको चैत १५ गते जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. ३ की कविता बुढाले सोही वडाका राज बहादुर सुनारलाई सार्वजनिक स्थलमा जातीय विभेद गरेको भिडियो ‘कुटिरो डटकम’ ले सार्वजनिक गरेको थियो। उक्त भिडियो बाहिरिएलगत्तै बुढाले सो अनलाइनका सञ्चालक तथा पत्रकार महेश नेपालीलाई फोन गरी धम्क्याएको बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, नेपालको संविधान र ‘जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८’ विपरीत सार्वजनिक स्थलमा विभेद गरेर कानुनको उल्लंघन गरिएको।
समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारलाई रातको समयमा फोन गरी कुटपिट गर्ने धम्की दिनु र भिडियो हटाउन दबाब दिनु प्रेस स्वतन्त्रताको ठाडो हनन भएको।
धम्की दिने क्रममा मानव अधिकारको समेत ख्याल नगरी अत्यन्तै असभ्य र गालीगलौजपूर्ण भाषा प्रयोग गरिएको।
”समाजलाई सुसूचित गर्ने स्वतन्त्र जिम्मेवारीमा रहेका पत्रकार र सञ्चारगृहलाई निर्वाध रूपमा रिपोर्टिङ गर्न नदिएर धाकधम्की दिनु निन्दनीय छ। प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्ने यस्ता कार्य तत्काल बन्द गरिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले दोषी कविता बुढालाई तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन र प्रहरीसँग माग गरेको छ। साथै, पत्रकारहरूलाई निर्भयताका साथ काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरेको छ।



