Sunday, August 9, 2026 | 10:13:45 PM

जुम्ला । कानुनले बर्जित गरेको र समाजले ‘कलंक’ मानेको जातीय विभेदको एउटा निकृष्ट रूप जुम्लाको सदरमुकाम खलंगामा देखिएको छ। आइतबार बेलुकीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा गुठिचौर–३ की कविता बुढाले राजबहादुर सुनारमाथि गरेको व्यवहारले आधुनिक सभ्य समाजलाई गिज्याइरहेको छ।

 

​के छ भिडियोमा?

​कालेखोलीस्थित एक होटलमा तातोपानी खान गएका सुनारलाई बुढाले ‘डुम’ भन्दै अपमानजनक शब्द प्रहार गरेकी छिन्। १ मिनेट ३४ सेकेण्ड लामो उक्त भिडियोमा उनी भन्छिन्, “डुम भनेका डुम हुन्। भैंसीको मासु खान्छन्। म डुमै भन्छु। मेरा घर दसैंमा पुच्छर लिन आउँछन्।”

​राजबहादुरले सामान्य प्रतिवाद गर्दा पनि उनी रोकिएकी छैनन्। उनले उल्टै आफ्नो पुर्ख्यौली अहङ्कार देखाउँदै भन्छिन्, “दसैंमा दमाह बजाउन आउने, विवाहमा बिउ माग्न आउनेलाई मैले डुम भन्न नपाउने?”

 

​’कानुन हातमा लिने’ धम्की

​भिडियोको सबैभन्दा बिझाउने पक्ष भनेको ती महिलाको आत्मविश्वासी धम्की हो। वरिपरि बसेका मानिसहरूले उनलाई सम्झाउन खोज्दा उनले प्रहरी प्रशासनलाई समेत चुनौती दिएकी छिन्। उनले भनेकी छिन्। “मलाई कतै जाक (प्रहरीमा हाल), मेरो जेठाबाले निकाली हाल्छन्।” यो अभिव्यक्तिले पहुँचवालाको आडमा कसरी जातीय विभेद टिकिरहेको छ भन्ने स्पष्ट पार्छ।

​यो घटना सार्वजनिक भएलगत्तै दलित अधिकारकर्मी र सरोकारवालाहरूले कडा आपत्ति जनाएका छन्।

​माग: ती महिलालाई तत्काल पक्राउ गरी ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन’ अन्तर्गत कडा कारबाही गरियोस्। यदि प्रशासनले राजनीतिक दबाबमा परेर कारबाही गर्न ढिलाइ गरेमा जिल्लाभर सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ।

​”यो घटनाले नयाँ सरकारको ‘विभेदमुक्त समाज’ को नारालाई खुला चुनौती दिएको छ। कानुनको शासन छ कि छैन भन्ने कुरा अब जुम्ला प्रशासनको कदमले देखाउनेछ।”

 ​एउटा व्यक्तिले अर्को व्यक्तिलाई उसको जातको आधारमा सार्वजनिक रूपमा अपमान गर्नु दण्डनीय अपराध हो। यस्ता भिडियोहरूले समाजको कुरुप ऐना देखाउँछन्, जसलाई तोड्न कानुनी उपचार नै अन्तिम विकल्प हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय