जुम्ला, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा जुम्लामा राँके जुलुससहित भव्य प्रदर्शन गरिएको छ। एमाले निकट भ्रातृ संगठनका युवाहरूको नेतृत्वमा शनिबार साँझ जुम्ला बजारमा मसाल जुलुस निकालिएको हो।
प्रतिशोधको राजनीति बन्द गर्न माग
प्रदर्शनकारीहरूले सरकारको कदमलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै तत्काल ओलीको रिहाइको माग गरेका छन्। जुलुसमा सहभागी युवाहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै चन्दननाथ नगरपालिकाको मुख्य चोक परिक्रमा गरेका थिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर!
राजनीतिक प्रतिशोधका आधारमा गरिएको गिरफ्तारी खारेज गर!
बालेन शाह नेतृत्वको सरकार राजीनामा दे!
गृहमन्त्री सुदन गुरुङ मुर्दावाद!
सरकारले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको हो। तर, एमालेले उक्त प्रतिवेदन अपूर्ण रहेको र प्रतिपक्षलाई दबाउन सरकारले यसलाई हतियार बनाएको दाबी गरेको छ।
”यो सरासर लोकतन्त्रको उपहास र राजनीतिक प्रतिशोध हो। जबसम्म अध्यक्ष ओली ससम्मान रिहा हुनुहुन्न, तबसम्म हाम्रो आन्दोलन रोकिने छैन,” प्रदर्शनमा सहभागी एक नेताले बताए।
केपी शर्मा ओलीको गिरफ्तारीपछि नेकपा एमालेले देशभर आन्दोलनको घोषणा गरेको छ। जुम्लाको राँके जुलुस त्यसैको एउटा कडी हो। प्रदर्शनकारीहरूले वर्तमान सरकारले जनताको मुद्दाभन्दा पनि राजनीतिक शत्रुता साध्न समय खर्चिएको आरोप लगाएका छन्।






