सागर कि.क, नलगाड, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ६ ले स्थानीय बासिन्दाको स्वास्थ्य उपचारमा सहजता ल्याउन विधिवत रूपमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। वडा कार्यालय, प्रदेश सरकार र स्थानीयको संयुक्त लगानीमा खरिद गरिएको उक्त एम्बुलेन्सको सञ्चालन सम्झौता भएसँगै अब स्थानीयले घरदैलोमै स्वास्थ्य सेवा पाउने भएका हुन्।



एम्बुलेन्स खरिद र सञ्चालनका लागि ठुलो रकम संकलन गरिएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो। जसको खर्च लागि स्थानीय चन्दा संकलन ७ लाख २० हजार रुपैयाँ, प्रदेश सरकारको अनुदान १२ लाख रुपैयाँ, वडा कार्यालयको बजेटमा ४ लाख रुपैयाँ, एम्बुलेन्स खरिद मूल्य २० लाख १० हजार रुपैयाँ र मर्मत तथा सजावट (सिट, डेकोरेसन आदि) गरेर २ लाख ६० हजार रुपैयाँ भएको अध्यक्ष पन्तले जानकारी दिनुभएको छ।
वडा कार्यालयले बजेट अभावका कारण एम्बुलेन्स आफैँ सञ्चालन गर्न कठिन हुने भएपछि ठेक्का प्रक्रियामार्फत व्यवस्थापनको जिम्मा लगाएको छ।
एम्बुलेन्स सञ्चालनको जिम्मा विवेक कुमार गौतमलाई दिइएको छ। सञ्चालकले वडा कार्यालयलाई मासिक २५,००० रुपैयाँ राजस्व बुझाउनुपर्ने सम्झौता भएको छ।
सानातिना खर्चहरू सञ्चालक स्वयंले बेहोर्ने र ठुलो प्राविधिक खर्च आएमा वडा कार्यालयले व्यवस्थापन गर्ने सहमति भएको छ।
पहिलो चरणको सम्झौता यसै चैत महिनादेखि आगामी जेठ महिनासम्मका लागि गरिएको छ।
यो एम्बुलेन्स सेवाले नलगाड नगरपालिकाको वडा नम्बर ४, ५ र ६ का बासिन्दाहरूलाई प्रत्यक्ष सहुलियत पुग्ने वडाध्यक्ष पन्तले बताउनुभयो। हाललाई यो एम्बुलेन्स लाहा स्वास्थ्य चौकीको मातहतमा रहने गरी व्यवस्थापन गरिएको छ।
”पालिका र वडासँग पर्याप्त बजेट नहुँदा पनि हामीले स्थानीयको सहयोग र प्रदेश सरकारको समन्वयमा यो काम सम्पन्न गरेका छौँ। समृद्धिको यात्रामा यो एउटा महत्वपूर्ण पाइला हो,” वडाध्यक्ष पन्तले भन्नुभयो, “सबैको साथ र सहयोगले आज हामी आम जनतालाई सेवा पुर्याउन सफल भएका छौँ।”
यस सेवाको सुरुवातसँगै आकस्मिक बिरामी र गर्भवती महिलाहरूलाई समयमै अस्पताल पुर्याउन ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।



