Tuesday, November 3, 2026

जुम्ला, १२ चैत । कर्णालीको गौरवका रूपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) ले आफ्नो आगामी यात्रालाई थप जनमुखी र प्रभावकारी बनाउन बृहत् सर्वपक्षीय छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।

​प्रतिष्ठानको दिगो विकास र समृद्धिका लागि आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र विभिन्न सरोकारवाला निकायहरूको उत्साहजनक सहभागिता रहेको थियो। छोटो अवधिमै चिकित्सा शिक्षामा छलाङ मारेको भन्दै सहभागीहरूले प्रतिष्ठानको प्रशंसा गरेका छन्। कार्यक्रममा

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले विगत ५ वर्षको प्रगतिलाई सुखद मान्दै सुधारका पक्षमा स्पष्ट खाका कोर्न आग्रह गर्नुभयो।

​ पूर्व राज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको जग बसाल्ने सबैको योगदानको कदर गर्दै आगामी विकासका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​ सहभागीहरूले आफ्ना भोगाइ र अनुभवका आधारमा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रविधिमैत्री र पहुँचयोग्य बनाउन सुझाव दिएका थिए।

उपकुलपति डाक्टर पुजन रोकायले ​”प्राप्त भएका सुझावहरू हाम्रा लागि मार्गदर्शक हुन्। हामी यी सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै सेवालाई थप उत्तरदायी र जनमुखी बनाउनेछौँ।”

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट हालसम्मका उपलब्धि र आगामी चुनौतीबारे कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।
शिक्षाध्यक्ष डा. डबलसिंह धामीले प्रतिष्ठानले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रम र विद्यार्थीहरूको अवस्थाबारे जानकारी दिनुभयो। नर्सिङ निर्देशक सविना थापाले स्वास्थ्य सेवाका प्रयास, उपलब्धि र सम्भावना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो।

​रजिष्ट्रार लक्ष्मी महतले सहभागीहरूलाई धन्यवाद दिँदै प्रतिष्ठानले कर्णालीको स्वास्थ्य अवस्था सुधारका लागि सर्वपक्षीय सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो।

यो कार्यक्रमले प्रतिष्ठान र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ भने कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको भविष्यलाई झन् उज्ज्वल बनाउने संकेत दिएको छ।