Tuesday, November 3, 2026

गुठिचौर, जुम्ला पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न जुम्लाको गुठिचौर गाउँपालिकाले विशेष अभियान सुरु गर्ने भएको छ। आगामी १० र ११ गते पालिकाभित्रका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपिभी (HPV) खोप लगाइने तयारी पूरा भएको छ।

​स्वास्थ्य शाखा प्रमुख रमेश बुढाका अनुसार पालिकाका वडा नम्बर १ देखि ५ सम्मका कुल ७७ जना किशोरीहरूलाई यो खोप प्रदान गरिने लक्ष्य राखिएको छ।

​

​शाखा प्रमुख बुढाले किशोरीहरूको जीवन सुरक्षाका लागि यो खोप अत्यन्तै प्रभावकारी रहेको बताउँदै कोही पनि नछुटुन भनेर “खोजेरै खोप लगाउने” रणनीति अपनाइएको जानकारी दिनुभयो।

​”हामीले ७७ जना किशोरीको तथ्याङ्क लिएका छौँ, तर कोही नछुटुन् भनेर १०% बढी खोपको मौज्दात मगाएका छौँ,” बुढाले भन्नुभयो। “आधारभूत स्वास्थ्य चौकी र स्वास्थ्य चौकीहरूलाई गाउँ-गाउँमा खोजी गरेर भए पनि सबैलाई समेट्न निर्देशन दिइएको छ।”

​खोप कार्यक्रमलाई सहज बनाउन विद्यालय र खोप केन्द्रहरूलाई प्राथमिकतामा राखिएको छ। वडा नम्बर १ देखि ५ सम्मका विभिन्न विद्यालयहरूमा र खोप केन्द्र पाइने भएको छ ।

​

पालिकाभित्रका ​खड्गदेवी माध्यमिक विद्यालय, ​शंकर बहुउद्देश्यीय विद्यालय,​ श्री माध्यमिक विद्यालय, ​त्रिभुवन माध्यमिक विद्यालय, ​सत्यवादी माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय र ​हिरा धनञ्जय आधारभूत विद्यालय (गुठीगाउँ) अध्ययनरत छात्रालाई लगाइने भएको छ।

 

​किन लगाउने एचपिभी खोप?

​पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने घातक रोगहरूमध्ये एक हो। सानै उमेरमा यो खोप लगाउँदा भविष्यमा हुनसक्ने क्यान्सरको जोखिमलाई न्यून गर्न सकिन्छ। स्वास्थ्य शाखाले यो खोप सुरक्षित र प्रभावकारी रहेकाले ढुक्क भएर आफ्ना छोरीहरूलाई नजिकैको खोप केन्द्र वा विद्यालयमा लैजान अभिभावकहरूलाई विशेष आग्रह गरेको छ।