Wednesday, November 4, 2026

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा एक वृद्धाको रहस्यमय ढङ्गले मृत्यु भएको छ। कनकासुन्दरी–४ साहुँबाडा निवासी ७० वर्षीया महेश्वरा सुनारको गम्भीर चोटपटक लागेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको हो।

​

​जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार महेश्वरा सुनार आफ्नै घरमा रगताम्मे र गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो। बिहान ८:१० बजे अस्पताल पुर्‍याइएकी सुनारलाई चिकित्सकले बिहान ९:४५ बजे मृत घोषणा गरेका थिए। ​प्रहरी निरीक्षक निर्देश बरालका अनुसार मृतकको टाउको र आँखामा गम्भीर चोट देखिएको छ।

​

​मृतकका आफन्त धिरबहादुर वडले कसैले धारिलो हतियार प्रहार गरी घाइते बनाएर घरमै छाडेको अवस्थामा छिमेकीले फेला पारेको बताएका छन्। टाउकोमा गहिरो घाउ र आँखामा समेत चोट देखिएकाले यो सामान्य दुर्घटना नभई हत्या हुनसक्ने आशंका गरिएको छ।

​

​घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धानलाई तीव्र पारिएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार,​घटनाको सत्यतथ्य बुझ्न प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा एक विशेष टोली घटनास्थल पुगिसकेको छ।

​प्रहरीले स्थानीयसँग सोधपुछ र प्रमाण संकलन कार्य सुरु गरेको छ।

​अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्। प्रहरीले घटनालाई ‘रहस्यमय’ मान्दै गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ।