राम प्रकाश बिक , जुम्ला । सरकारी सवारीसाधनको जथाभावी प्रयोग र दुरुपयोग रोक्न जुम्लाको गुठिचौर गाउँपालिकाले नयाँ नियम लागू गरेको छ। गाउँ कार्यपालिकाको हालै बसेको बैठकले ‘सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ पारित गर्दै कडा व्यवस्था गरेको हो।
यसअघि सुशासन अभियानका कारण रोकिएका सवारीसाधनहरू अब यही कार्यविधि अनुसार पुनः सञ्चालनमा आउनेछन्।
के छ त नयाँ कार्यविधिमा
नयाँ कार्यविधिले प्रत्येक यात्राको प्रस्थान बिन्दु, गन्तव्य, सुरुको किलोमिटर र इन्धनको परिमाण खुलाएर चालकले अनिवार्य हस्ताक्षर गर्नुपर्नेछ। लकबुक नभएका सवारीलाई ‘अनाधिकृत’ मानिनेछ। लकबुक बिना सवारी चलाएमा लागेको इन्धन खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ।
कार्यालय समयबाहेक वा बिदाको दिन सवारी प्रयोग गर्नु परेमा प्रमुख प्रशासकीय अधिकृतबाट अनिवार्य सवारी पास लिनुपर्नेछ।
सवारीसाधन प्राप्त गर्न निवेदन र सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य गरिएको छ।
कार्यविधिले इन्धन र मर्मतको समेत सीमा तोकेको छ । दुई पांग्रे सवारीसाधनलाई प्रत्येक महिना १० लिटर इन्धन उपलब्ध गराउने र चार पांग्रेको हकमा लकबुक भरेर आवश्यकअनुसार इन्धन प्रदान गरिनेछ । दुई पांग्रेको मर्मत गर्न २० हजार र पुरानो सवारीसाधनका लागि २५ हजार बढी नहुने गरेर मर्मत खर्च उपलब्ध गराइनेछ । चार पांग्रेको हकमा १० हजारभन्दा माथि मर्मत गर्दा कार्यपालिकाको निर्णयअनुसार मेकानिकल इन्जीनियर वा आधिकारिक ग्यारेजको लागत अनुमान स्वीकृत गराएर मात्र मर्मतको काम सुरु गर्ने कार्यविधिमा समेटिएको छ ।
सवारी सफा राख्ने, कम मर्मत खर्च निकाल्ने र दुर्घटना नगराउने चालकलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ।
सवारी नवीकरण र बिमा समयमै नगरेमा लाग्ने जरिवाना सम्बन्धित कर्मचारी वा चालकको तलवबाट कट्टा गरिनेछ।
गुटेचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले ”यो कार्यविधिले सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र सुशासन कायम गर्न ठूलो मद्दत पुर्याउनेछ।”
यही चैत १५ गते बस्ने गाउँसभाले यो कार्यविधि पूर्ण रूपमा पारित गरेपछि यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याइने प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो।






