जुम्ला । ‘ग्लोबल मनी विक’ (Global Money Week) को अवसर पारेर लक्ष्मी सनराइज बैंक, शाखा कार्यालय गुठिचौरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थानीय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले समुदायको शैक्षिक स्तर उकास्ने र विद्यार्थीमा वित्तीय चेतना जगाउने उद्देश्यले यो कार्यक्रम सम्पन्न गरेको हो।
गुठिचौर गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत जेहेन्दार छात्रा रेजिना भण्डारीलाई एक विशेष कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरियो। बैंकका शाखा प्रबन्धक प्रकाश शर्माले विद्यार्थी भण्डारीलाई छात्रवृत्तिको पन्ध्र हजारको चेक हस्तान्तरण गर्नुभएको थियो।
छात्रवृत्ति हस्तान्तरण गर्दै शाखा प्रबन्धक शर्माले बैंकको भूमिका केवल आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहन गर्नु पनि रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा सानै उमेरदेखि बचत गर्ने बानीको विकास होस् र आर्थिक अभावका कारण कसैको शिक्षा नरोकियोस् भन्ने हाम्रो चाहना हो। यस सानो सहयोगले रेजिना जस्ता जेहेन्दार विद्यार्थीलाई आफ्नो लक्ष्य प्राप्तिमा थप ऊर्जा दिनेछ।”
विद्यालयकी प्रधानाध्यापक मिट्ठु चौलागाईं (भण्डारी)का अनुसार रेजिना भण्डारी आफ्नो अध्ययनमा अत्यन्तै मिहिनेती र अनुशासित भएकाले विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम उनलाई यस छात्रवृत्तिको लागि छनोट गरिएको हो। प्रधानाध्यापक भण्डारीले बैंकको यस कदमको प्रशंसा गर्दै भन्नुभयो, “यस्ता प्रोत्साहनमूलक कार्यक्रमले अन्य विद्यार्थीलाई पनि मिहिनेत गर्न प्रेरित गर्छ।”
समुदायसँग जोडिँदै लक्ष्मी सनराइज
लक्ष्मी सनराइज बैंकले पछिल्लो समय दुर्गम क्षेत्रका शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। गुठिचौर शाखाले पनि स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न समुदाय लक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी रेजिना भण्डारीले खुसी व्यक्त गर्दै यस सहयोगले आफूलाई भविष्यमा उच्च शिक्षा हासिल गर्न थप हौसला मिलेको बताइन्। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।






