Monday, November 2, 2026

सुर्खेत/जुम्ला । सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि भएको विभत्स हत्याप्रति जुम्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कडा आपत्ति जनाउनुभएको छ।

​यस जघन्य अपराधको निन्दा गर्दै सांसद शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। उहाँले घटनालाई ‘अत्यन्तै दर्दनाक र निन्दनीय’ भन्दै दोषीलाई कानुनको कठघरामा उभ्याएर कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ।

 

सांसद शाहीले भन्नुभएको छ, “यस्तो जघन्य अपराध गर्ने दोषीलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही होस्। निर्दोष किशोरीले न्याय पाउनुपर्छ र यस्ता अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन।”

​

एक्काइसौँ शताब्दीमा पनि महिला र किशोरीहरू असुरक्षित हुनु समाजका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै उहाँले थप्नुभएको छ, “यस्ता घटनाहरू अझै पनि हाम्रो समाजमा भइरहनु वास्तवमै ठूलो दुर्भाग्य हो। अब हामी सबैले मिलेर महिलाको सुरक्षा, न्याय र मानवताको पक्षमा आवाज उठाउन जरुरी छ।”

​सांसद शाहीले इनिशा विकको न्यायका लागि सबैलाई एकजुट हुन आह्वान गर्दै अपराधीलाई हदैसम्मको सजाय नदिलाएसम्म विश्राम लिन नहुनेमा जोड दिनुभएको छ। वीरेन्द्रनगरमा भएको यस घटनाले अहिले देशभर आक्रोश पैदा गरेको छ भने स्थानीयस्तरमा दोषीको पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शनहरू समेत भइरहेका छन्।