जुम्ला । नेकपाका नेता रमेश राउत ‘विक्रान्त’ले हालै सम्पन्न चुनावी परिणामलाई ‘प्राविधिक हार’को संज्ञा दिँदै विचार र राजनीतिको लडाइँमा आफ्नो पार्टी र एजेन्डाको जित भएको दाबी गर्नुभएको छ।
सचेत मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै उहाँले चुनावी मैदानको अङ्कगणितमा हार-जित हुनु स्वभाविक प्रक्रिया रहेको र यसलाई सहज रूपमा स्वीकार गर्ने बताउनुभयो। जुम्लाको चुनावी प्रतिस्पर्धालाई ‘तारा र सारा’ बीचको लडाइँको रूपमा व्याख्या गर्दै उहाँले राजनीतिक रूपमा भने नेकपाको विचारले नै श्रेष्ठता हासिल गरेको जिकिर गर्नुभयो।
राउतले पूर्वमन्त्री एवं नेता नरेश भण्डारी (क. क्षितिज) को प्रसंसा गर्दै भन्नुभयो:”नरेश भण्डारी एक बौद्धिक र विकासवादी नेता हुन् भन्नेमा दुई मत छैन। उनको भिजन र नेतृत्वको अभाव जुम्ला र सिंगो कर्णालीले ढिलो चाँडो पक्कै महसुस गर्नेछ।”
उहाँले थप भन्नुभयो, “हालको वैचारिक र राजनीतिक खडेरीका बीच जनताको तत्कालीन चिन्तन अनुसारको नेतृत्व चयन भएको छ, जसले हामीलाई गम्भीर बनाएको छ। तर, एक दिन जनताले पक्कै सही र गलतको न्याय गर्नेछन् भन्नेमा हामी विश्वस्त छौँ।”
आफ्नो असन्तुष्टि र वैचारिक समीक्षाका बाबजुद पनि राउतले लोकतान्त्रिक संस्कार प्रदर्शन गर्दै विजयी उम्मेदवार ज्ञानबहादुर शाहीलाई बधाई दिनुभएको छ। “जुम्ला, कर्णाली र देशका जनताले धोका नपाउन् भन्ने कामना गर्दै माननीय शाहीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,” उहाँले उल्लेख गर्नुभयो।






