जुम्ला । नेकपा (एमाले) का निवर्तमान केन्द्रीय सदस्य रतननाथ योगीले जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि एक सन्देश जारी गर्दै नेता योगीले नवनिर्वाचित सांसद शाहीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।
नेता योगीले जुम्लाको समग्र विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि आफ्नो र पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता समेत जनाउनुभएको छ। निर्वाचित प्रतिनिधिलाई शुभकामना दिँदै नेता योगीले भन्नुभयो, “जुम्लाको विकासका लागि दलगत भावनाभन्दा माथि उठेर साझा दृष्टिकोण निर्माण गरी अगाडि बढ्न म विशेष आग्रह गर्दछु। जनताको अपेक्षा पूरा गर्न र जुम्ली पहिचानलाई उँचो राख्न नयाँ नेतृत्वले ठोस पहलकदमी लिनेछ भन्ने मेरो विश्वास छ।“
निर्वाचनमा एमालेका उम्मेदवार शान्तिलाल महत पराजित भए पनि पार्टीको संगठन र विचारप्रति जनताले देखाएको भरोसालाई आफूहरूले उच्च सम्मान गर्ने योगीले बताउनुभयो। उहाँले निर्वाचनलाई सफल बनाउन अहोरात्र खटिने पार्टी उम्मेदवार शान्तिलाल महत, सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभचिन्तक र मतदान गर्ने आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नुभएको छ।



“जनताको विश्वास नै हाम्रो शक्ति“
हार–जित लोकतान्त्रिक प्रक्रियाको एउटा पाटो भएको उल्लेख गर्दै नेता योगीले भन्नुभयो— “यस पटक हामीले विजय हासिल गर्न नसके पनि जुम्ली जनताको साथमा हामी सधैँ रहनेछौँ। जनताले हामीलाई दिएको अमूल्य मत र विश्वास नै हाम्रो वास्तविक शक्ति हो। यो विश्वासलाई जीवनभर सम्मान गर्दै जुम्लाको समृद्धिका लागि हामी अविचलित रूपमा लागिरहनेछौँ।“एमाले जुम्लाले आगामी दिनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै जिल्लाको विकासका मुद्दामा सरकार र निर्वाचित प्रतिनिधिसँग रचनात्मक सहकार्य गर्ने संकेत समेत नेता योगीले दिनुभएको छ।



