Tuesday, November 3, 2026

जुम्ला । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा निर्वाचन परिचालन संयोजक गोमा गौतम कुँवरले जुम्लाका आम मतदाता तथा शुभचिन्तकहरूलाई हार्दिक आभार व्यक्त गर्नुभएको छ। हालै सम्पन्न २०८२ को प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा जनताले दिएको मत र विश्वासप्रति सम्मान प्रकट गर्नुभएको हो।

​निर्वाचन परिचालन संयोजकसमेत रहनुभएकी कुँवरले जुम्ला, कर्णाली र समग्र नेपालको विकास र समृद्धिको एजेन्डालाई विश्वास गरेर ११ हजार ६ सय ३५ अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदाताहरूलाई विशेष धन्यवाद दिनुभएको छ।

​विज्ञप्तिमा निर्वाचनको दौरानमा अहोरात्र खटिने पार्टी कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूको योगदानलाई ‘योद्धा’को संज्ञा दिइएको छ। “निर्वाचनको क्रममा आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरूप्रति म ऋणी छु,” उहाँले भन्नुभएको छ।

​साथै, विभिन्न भौगोलिक विकटता, दलीय कारण वा अन्य प्राविधिक कठिनाइले गर्दा मतदान गर्न नपाएका मतदाताहरूप्रति पनि उत्तिकै उत्तरदायी रहने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।

​हार-जित स्वाभाविक, सेवामा निरन्तरता

​लोकतन्त्रमा निर्वाचन एउटा प्रक्रिया मात्र भएको उल्लेख गर्दै कुँवरले हार र जितलाई स्वाभाविक रूपमा लिएको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “लोकतन्त्रमा जनताको फैसला सधैं सर्वोपरी हुन्छ। निर्वाचनको परिणाम जे-जस्तो आए पनि हाम्रो मातृभूमि र जनताको सेवा गर्ने संकल्पमा कुनै कमी आउने छैन।”

​पराजियबाट विचलित नभई आगामी दिनमा पनि कर्णालीको आवाजलाई बुलन्द बनाउने र जनसरोकारका मुद्दाहरूमा निरन्तर समर्पित रहिरहने अठोट उहाँले व्यक्त गर्नुभएको छ।