Monday, August 24, 2026 | 11:09:37 AM

​जुम्ला, २४ फागुन (८ मार्च) । निवर्तमान सङ्घीय सांसद छिरिङ ल्हामु लामाले ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संसारभरिका श्रमजीवी र सङ्घर्षशील महिलाहरूप्रति सम्मान व्यक्त गर्दै नयाँ सङ्घर्षको सङ्कल्प गर्नुभएको छ।

​आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाको श्रम र योगदानविना कुनै पनि सभ्यता वा अर्थतन्त्र पूर्ण नहुने उल्लेख गर्नुभयो। साथै, उहाँले राज्यको नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता र विभेदको अन्त्यका लागि अब सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी समेत दिनुभएको छ।

सांसदको रूपमा सदनमा रहँदा जसरी अन्याय विरुद्ध आवाज उठाएको थियो, अबका दिनमा सडकबाटै त्यस्तो खबरदारीलाई निरन्तरता दिने उहाँले स्पष्ट पार्नुभयो।

​ लामाले सरकारका हरेक गतिविधिमा सकारात्मक साथ रहने भए तापनि गलत कदमहरूमाथि आफ्नो निरन्तर निगरानी र ‘गर्जन’ रहने बताउनुभएको छ।

​ युग फेरिए पनि निर्णय प्रक्रियामा समान सहभागिता, हिंसाको अन्त्य र लिङ्गभेद जस्ता चुनौतीहरू अझै बाँकी रहेको भन्दै यो दिवसलाई उत्सव मात्र नभई ‘जागरण र प्रतिबद्धता’ दोहोर्‍याउने दिनको रूपमा लिनुपर्ने उहाँको तर्क छ।

 

​न्याय र समानतामा आधारित समाज निर्माणका लागि महिला र पुरुष दुवैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

छिरिङ ल्हामु लामाले ​”महिलाले चाहेमा समाज, सोच र इतिहास बदल्ने सामर्थ्य राख्छन्। ८ मार्चले हामी सबैलाई समान अधिकार र सम्मानित जीवनका लागि अझ दृढताका साथ संघर्ष गर्न प्रेरणा प्रदान गरोस्।”

छिरिङ ल्हामु लामाको यो अभिव्यक्तिले उहाँ संसदीय भूमिकाबाट बाहिर रहे पनि जनसरोकारका मुद्दा र महिला अधिकारको सवालमा सक्रिय राजनीतिक पैरवीमा रहने संकेत गरेको छ। विशेषगरी “सदनमा झैँ सडकमा गर्जिने” उहाँको उद्घोषले आगामी दिनमा उहाँको सक्रियता झनै बढ्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय