जुम्ला । निर्वाचनको ’मौन अवधि’ सुरु भइसकेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा विवादास्पद भिडियो तीव्र आलोचनापछि हटाएका छन्। जुम्लाको पौवा होटलको झ्यालबाट खिचिएको उक्त भिडियोमा शाहीले भ्रमपूर्ण दाबी गरेको भन्दै स्थानीयस्तरमा विरोध भएपछि उनले फेसबुकबाट उक्त सामग्री हटाएका हुन्।
के थियो भिडियोको विवाद?
शाहीले सार्वजनिक गरेको भिडियोमा नरेश भण्डारीका भाइबुहारी संगिता आचार्यले आफू बसेको घर घेरा हालेको र कालीखोली चोकमा रहेका युवाहरू ’गुन्डा’ भएको आरोप लगाएका थिए। तर, दृश्यमा भने संगिता आचार्य सामान्य रूपमा घाम ताप्दै फोनमा कुरा गरिरहेको देखिन्छिन्।
होटलको झ्यालबाट खिचिएको स्पष्ट देखिने उक्त भिडियोमा बिजुलीका तारहरू समेत देखिएका छन्। स्थानीयले यसलाई नियोजित रूपमा विपक्षीलाई बदनाम गराउन र मतदाता प्रभावित पार्न रचिएको ’प्रपोगान्डा’ को संज्ञा दिएका छन्।
प्रजिअको आग्रह कि बचाउको बाटो?
भिडियो हटाएपछि शाहीले सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आग्रहमा आफूले पोस्ट डिलिट गरेको बताएका छन्। उनले ’शान्तिपूर्ण र मर्यादित निर्वाचन’ का लागि आफूले भिडियो हटाएको दाबी गरे पनि आलोचकहरूले भने यसलाई ’गल्ती ढाकछोप गर्ने प्रयास’ भनेका छन्।
मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार वा नकारात्मक सन्देश फैलाउन नपाइने कानुनी व्यवस्थाबारे शाही अनभिज्ञ हुन् वा जानाजान उल्लंघन गरेका हुन्? निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुनुपर्नेमा ’आग्रह’ मा भिडियो हटाउनुले निर्वाचन आयोगको फितलो उपस्थितिलाई संकेत गर्दछ।
निर्वाचनको मुखमा मतदातालाई उत्तेजित पार्ने र विपक्षीको चरित्र हत्या गर्ने गरी सार्वजनिक गरिएको यो भिडियो प्रकरणले शाहीको परिपक्वतामाथि प्रश्न उठाएको छ। ’मर्यादित निर्वाचन’ को दुहाई दिएर भिडियो हटाए पनि मौन अवधिको उल्लंघन भइसकेको भन्दै विपक्षीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।






