Tuesday, November 3, 2026

जुम्ला, फागुन ९ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै जुम्लाका उम्मेदवारहरूले ’कर्णाली प्राविधिक शिक्षालय’(प्त्क्ष्)लाई विश्वविद्यालय बनाउने मुद्दालाई प्रमुख चुनावी एजेण्डा बनाएका छन्। २०३७ सालमा स्थापना भएको देशकै पहिलो आधुनिक प्राविधिक शिक्षालय अहिले उम्मेदवारहरूको बाचा, प्रतिज्ञा र संकल्प पत्रमा ’विश्वविद्यालय’ का रूपमा चित्रित छ।
जुम्लामा चुनावी मैदानमा रहेका मुख्य दलका उम्मेदवारहरूबीच शिक्षालयलाई स्तरोन्नति गर्ने होडबाजी नै चलेको छ। उम्मेदवार शान्तिलाल महतले आफ्नो बाचापत्रको बुँदा नं. ३ मा यसलाई ’कृषि तथा पर्वतीय विश्वविद्यालय’ बनाउने प्राथमिकता राखेका छन्। उम्मेदवार दिपबहादुर शाहीले आफ्नो प्रतिज्ञापत्रमा यसलाई ’प्राविधिक विश्वविद्यालय’ बनाउने संकल्प गरेका छन्। उम्मेदवार मनऋषी धितालले पनि शिक्षालय सुधारको ठोस योजना ल्याउने दाबी गरेका छन्।
चार दशकभन्दा लामो इतिहास बोकेको यो शिक्षालय अहिले आफ्नै अस्तित्व जोगाउन संघर्षरत छ। ६ सय ५ रोपनी क्षेत्रफलमा फैलिएको यस शिक्षालयका ५८ वटा भवनहरूमध्ये अधिकांश जीर्ण छन्। “चार दशकसम्म कसैले ध्यान दिएनन्, अहिले चुनावताका गरेका बाचाले सार्थकता पाउलान् भन्ने विश्वास छैन,“ स्थानीय नन्दबहादुर खत्री गुनासो गर्छन्।


नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार, राज्यको स्रोतसाधनले नधान्ने विश्वविद्यालयको कुरा गर्नु मतदाता झुक्याउने खेल मात्र हो। “शिक्षालयमा हाल पर्याप्त पूर्वाधार छैन, दलहरू विश्वविद्यालय बनाउने कुरा गर्छन्। यो उम्मेदवारको काबुभन्दा बाहिरको विषय हो,“उनले भने। शिक्षालयले हालसम्म करिब ७ हजार दक्ष प्राविधिक उत्पादन गरिसकेको छ, जसमध्ये ६० प्रतिशत कर्णालीमै कार्यरत छन्। यहाँबाट उत्पादित जनशक्ति अहिले सांसद र मन्त्रीसम्म बनेका छन्।
झण्डै ४ हजार दक्ष जनशक्तिले राज्यका विभिन्न ओहोदामा रहेर काम गरिरहेका छन् ।तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन चलिरहेको छ । चुहिने छानाभित्रै छात्राबास चलेका छन् । भवन मर्मतका लागि बजेट व्यवस्थापन आवश्यक भएको शिक्षालय प्रमुख विकल अधिकारीले बताए ।

उनका अनुसार शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । जसमा सिभिल तर्फ १ सय ३५ जना, फार्मेसी तर्फ १ सय १४, एजी प्लान्ट साईन्स तर्फ १ सय २८, फरेष्टी तर्फ ७५ र एचए तर्फ ३८ जना कुल ४ सय ९० विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख अधिकारीको भनाइ छ। शिक्षालयलाई विश्वविद्यालय बनाउने भन्दा पनि विपन्नका छोराछोरीले प्राविधिक शिक्षा आर्जन गर्न पाउने नीति, शिक्षालयको भौतिक संरचना सुधारमा ध्यान दिनुपर्ने जुम्लाबासीको माग छ । ‘शिक्षालयलाई विश्वविद्यालय बनाउने संकल्पहरु स्वागतयोग्य नै छन्,’ शिक्षालय प्रमुख अधिकारीले भने, ‘तर शिक्षालयका पुराना संरचना मर्मत गर्नुपर्ने अवस्था छ । सरकारी बजेटमा शिक्षालय प्राथमिकतामा परिरहेको छैन् । चुनावमा एजेण्डा बनाउने तर काम नहुने समस्या छ ।’ शिक्षालय सुधारमा सबैको सहयोग आवश्यक भएकाले ठूला सपना बाँड्नु भन्दा भएका पूर्वाधारको प्रयोग गर्ने माहोल बनाउन आवश्यक रहेको उनले बताए ।


स्थापनाकालमा शिक्षालय कर्णाली अञ्चलका पाँच जिल्ला तथा जाजरकोट, दैलेख, सुर्खेत, बझाङ र बाजुराका विद्यार्थीका लागि अध्ययनस्थल बनेको थियो। हाल शिक्षालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्लामा फैलिएको छ।जुम्ला सदरमुकाबाट करिब ८ हजार फट उचाईंमा रहेको छ। शिक्षालय प्रमुख विकल अधिकारीका अनुसार अहिले शिक्षालयलाई ठूला सपना भन्दा पनि तत्काल भौतिक संरचना मर्मत र बजेटको खाँचो छ।
चुहिने छानामुनि छात्रबास सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै उनले भने, “ठूला सपना बाँड्नु भन्दा भएका पूर्वाधारको मर्मत र विपन्नका छोराछोरीले सहजै प्राविधिक शिक्षा पाउने वातावरण बनाउनु आवश्यक छ।“कर्णालीका १० जिल्लाका विद्यार्थीहरूको भविष्य जोडिएको यो शिक्षालयलाई चुनाव जित्ने भ¥याङ मात्र बनाइन्छ कि साच्चै सुधार गरिन्छ? त्यो भने निर्वाचन पछिको परिणामले नै देखाउनेछ।