Thursday, November 5, 2026

फागुन ८, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–८ बङतडिमा गएराति भएको भीषण आगलागीले एक स्थानीयको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सन्देश कुमार शाहीको तीन तले नौ कोठे घर आगलागीबाट ध्वस्त भएको हो।
बिहीबार राति करिब १० बजेतिर अचानक सुरु भएको आगोले शाहीको घरभित्र रहेका सम्पूर्ण धनमाल, लत्ताकपडा र गरगहना खाक बनाएको छ। पीडित परिवारका अनुसार घरमुली दिलबहादुर शाही जडीबुटी व्यवसायी भएकाले घरमा व्यापारका लागि राखिएको ठूलो परिमाणको नगद समेत जलेको अनुमान गरिएको छ। “सौभाग्यवश घटनाका बेला घरमा कोही नभएकाले मानवीय क्षति भने हुन पाएन, तर वर्षौँको कमाइ आँखाकै अगाडि खरानी भयो,“ पीडित परिवारले भावुक हुँदै बताए।

राति १० बजे सल्केको आगो नियन्त्रणमा लिन निकै सकस भएको थियो। स्थानीय बासिन्दा र प्रहरी चौकी टोप्लाको टोलीले रातभरको प्रयासपछि शुक्रबार बिहान साढे ५ बजेतिर मात्र आगो पूर्ण रूपमा निभाउन सफल भएका थिए। भौगोलिक विकटता र पर्याप्त स्रोत साधनको अभावका कारण आगो निभाउन लामो समय लागेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। जाडोको समयमा भएको यो घटनाले शाही परिवारको विचल्ली भएको छ।