जुम्ला । निर्वाचनको माहोल तातिएसँगै राजनीतिक दलहरू गाउँ–गाउँ पुगिरहेका छन्। तर, जुम्लाका दलित अगुवाहरूले भने राजनीतिक दलहरूले दलित समुदायलाई केवल ‘भोट बैंक’ को रूपमा मात्र प्रयोग गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
दलित अगुवा बालाराम नेपालीले निर्वाचनका बेला दलितका घरदैलोमा पुग्ने र चुनाव जितेपछि बेवास्ता गर्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्ने बताएका छन्। राजनीतिक दलहरूले दलित समुदायलाई केवल मत संकलन गर्ने माध्यम बनाएको उनको आरोप छ।
जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा हुँदा पनि कुनै पनि दलले दलित समुदायबाट उम्मेदवार नबनाएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
“दलित समुदायलाई सजिलै प्रभावमा पार्न सकिन्छ भन्ने राजनीतिक दलहरूको भ्रम अब मतमार्फत नै बदल्नुपर्छ,” नेपालीले चेतावनी दिए।
राज्यको मूलधारबाट पछि पारिएको समुदायको वास्तविक मुक्ति तब मात्र सम्भव छ, जब नीति निर्माण गर्ने तहमा उनीहरूको सुनिश्चित प्रतिनिधित्व हुन्छ।
चुनावका बेला दलित समुदायलाई मतदातका लागि मात्रै प्रयोग गर्न खोजिएको जस्तो देखिन्छ । जुम्लामा ७१ हजार ७३९ मतदातामध्ये २४ हजार ३७१ हजार मतदाता दलित समुदायका रहेका छन् । दलित समुदायका मतदाता प्रतिशत (लगभग)३४% रहेका छन् । जुम्लाको कूल मतदाता संख्या र दलित समुदायको हिस्सालाई हेर्दा यो समुदाय कुनै पनि दलको जित-हार तय गर्न निर्णायक शक्ति देखिन्छ।
बालाराम नेपालीले ”हामी मत हाल्ने मेसिन मात्रै होइनौँ, नेतृत्व गर्न पनि सक्षम छौँ। तर पहुँच र अवसरको अभावले हामीलाई सधैं किनारा लगाइयो,” ।
आगामी दिनमा पनि दलित समुदायलाई टिकट र नेतृत्वबाट वञ्चित गरिए पार्टीभित्रैबाट सशक्त विद्रोह र आवाज उठाइने चेतावनी समेत दिइएको छ। राजनीतिक दलहरूले आफ्नो व्यवहार परिवर्तन नगरे यो ठूलो मतदाता संख्या आगामी निर्वाचनमा निर्णायक र चुनौतीपूर्ण बन्ने देखिन्छ।






