Monday, August 24, 2026 | 11:11:57 AM

जुम्ला। मंसिर १८ गते (डिसेम्बर ४)
जुम्लाको चन्दननाथ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। यस अवसरमा अपाङ्गता भएका व्यक्तिहरूले दया र कृपा भन्दा सम्मान, अवसर र हक–अधिकारको सुनिश्चितता माग गर्दै सशक्त आवाज उठाएका छन्। कार्यक्रममा उपस्थित अपाङ्गता भएका व्यक्तिहरूको आवाज एक थियोः “हामीले दयाभन्दा सम्मान, अवसर र सहभागिता चाहन्छौं, अपाङ्गता भएका व्यक्तिलाई समाजले अवसर दिनुपर्छ, कृपा होइन।”

नगरस्तरीय अपाङ्गता सञ्जाल सदस्य कमला सेजुवालले अपाङ्गताको कारण जुनसुकै भए पनि राज्यले उनीहरूको क्षमता अनुसार रोजगारी र अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “हामीलाई माग्नेमात्र होइन, अधिकारसहित कर्तव्यबोध गरिने वातावरण चाहिन्छ। अधिकार र कर्तव्यको सन्तुलन समाजले ल्याउनुपर्छ।” अपाङ्ग पुनःस्थापना विकास केन्द्र जुम्लाका सदस्य कमला बुढाले संविधानमा व्यवस्था गरिएका अधिकारहरूलाई व्यवहारमा लागू गराउनु राज्यको प्रमुख जिम्मेवारी भएको औँल्याइन्।
राष्ट्रिय मानवअधिकार आयोग जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य) ले पनि अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्यको दायित्व भएकोमा जोड दिइन्। चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले शारीरिक अपाङ्गता भन्दा बौद्धिक अपाङ्गतालाई चुनौतीपूर्ण मान्न सकिने बताए। यद्यपि, उनले मानसिक दृढता भएका व्यक्तिले असाधारण उपलब्धि हासिल गर्न सक्ने भन्दै अभिभावक र राज्य दुवैले जिम्मेवारी पूरा गरेमा भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे।


महिला तथा बालबालिका शाखा प्रमुख अम्बिका मल्लले अपाङ्गता दिवसलाई हक–अधिकार संरक्षण र सचेतना फैलाउने अवसरको रूपमा मूल्याङ्कन गरिन्। नगरपालिकाले हालसम्म ४३ जना अपाङ्गता भएका बालबालिकाको दर्ता गरिसकेको छ भने अपाङ्गता भएका महिलालाई अनुदान र अन्य सेवासुविधा उपलब्ध गराइरहेको जानकारी दिइन्।
दिवसको अवसरमा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा कार्यवाहक मेयर रवि थापा, अपाङ्ग पुनःस्थापना विकास केन्द्रका अध्यक्ष यज्ञ बहादुर बुढ्थापा, र वडाध्यक्ष बृख बहादुर कार्की लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय