राम प्रकाश वि.क जुम्ला, मंसिर १५ गते । जुम्लाको गुठिचौर गाउँपालिका–५, फोइगाउँकी बिजमाया जैसीका लागि विगत छ वर्ष अनवरत सङ्घर्षको अर्को नाम थियो। हिउँको भारले गर्दा ढलेको पुरानो घर फेरि उठाउन आर्थिक अवस्थाले साथ नदिएपछि उनी साना छोराछोरीसहित वर्षौंसम्म एक साँघुरो काठको टहरामै बस्न बाध्य भइन्।
टहराभित्रै खाना पकाउने, त्यहीँ सुत्ने, र वर्षा–हिउँ पर्दा छाप्रोबाट भित्र छिर्ने पानीसँग जुध्दै छिमेकीकहाँ रात काट्ने दिनहरू बिजमायाका लागि पीडादायी स्मृति बनेका थिए। तर, आज उनी सहयोग, सरोकार, पत्रकारिता र समुदायको सामूहिक उत्तरदायित्वको जितसहित एक पक्की घरको ढोकाबाट मुस्कुराउँदै भित्र पसेकी छन्।

सञ्चार र सहयोगले बदलियो जीवन
घरविहीन बिजमाया चिसो माइनस डिग्रीमा पनि टहरामै बसिरहेको समाचार सार्वजनिक भएपछि यस विषयलाई प्रमुखतासाथ उठाउनेहरूको सङ्ख्या बढ्यो। नेपाल पत्रकार महासङ्घ जुम्लाका तत्कालीन उपाध्यक्ष दिलामाया शाहीको पहल र सञ्चारमाध्यमले दिएको प्राथमिकताले सम्बन्धित निकायहरू सक्रिय बने। पत्रकार महासङ्घले स्थानीय सरकारसँग समन्वय गरेपछि गुठिचौर गाउँपालिकाले एक लाख रुपैयाँको सहयोग स्वीकृत ग¥यो। यही आधारबाट बिजमायाको घर निर्माणको सपना साकार हुन थाल्यो। दिलामाया शाही ’दिमा आमाघर जुम्ला’को अध्यक्ष पनि हुनुहुन्छ।
उहाँले बिजमायाको घरको अवस्था हेरेर नाजुक स्थितिमा सहयोगको पहल गर्नुभयो र पक्की घर निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँको पहलले नै यो घटना ’पत्रकारिता, स्थानीय सरकार र समुदायको सामूहिक उत्तरदायित्वको राम्रो उदाहरण’ बन्न पुग्यो। दिलामाया शाहीले पत्रकारको रूपमा समाचार सार्वजनिक गरी, संस्थागत (पत्रकार महासङ्घ) समन्वयमार्फत सरकारी सहयोग जुटाएर, र व्यक्तिगत रूपमा राहत सामग्री पु¥याएर बिजमाया जैसीको जीवन परिवर्तनमा केन्द्रीय भूमिका निभाउनुभयो।

नयाँ घरः पुनर्जीवित सम्मान
आज बिजमायाको घर दुईतले, चारकोठे, ढुंगामाटो र काठको मजबुत संरचनासहित तयार छ। छुट्टै भान्सा, र करिब दुई सय मिटर चौडा जमिनमा फैलिएको यो फराकिलो घर संरचना मात्र नभई एक पुनर्जीवित सम्मान हो। घर हेर्दै बिजमायाको आँखाबाट खुशीका आँसु थामिन सकेनन्। उनी भन्छिन्, “ऋण धेरै थपियो, तर घर बनेकोमा आनन्दै छ। छोराछोरीलाई छुट्टै कोठामा सुत्न पाइन्छ, भन्ने कल्पनै ठूलो कुरा थियो।” उनको स्वरभित्र सङ्घर्षका वर्षहरू र हल्का मुस्कानमा खुसीको उज्यालो मिश्रित थियो।
अन्य सहयोगहरू
समाचारपछि आईएनएफ जुम्लाले नौ महिनाको खाद्यान्न उपलब्ध गरायो। तत्कालीन कर्मचारी फालुराम चौधरी र पत्रकार दिलामाया शाही स्वयंले फोईगाउँ पुगेर खाद्यान्न पु¥याएका थिए। जिल्ला प्रशासन जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन कम्बल र त्रिपाल उपलब्ध गराए। यी साना–ठूला सहयोगहरूले जाडोमा बिजमायाको परिवारलाई केही राहत दिएका थिए।
ऋणको बोझ र सङ्घर्षको निरन्तरता
गाउँपालिकाबाट प्राप्त एक लाखको सहयोगले आधार त बन्यो, तर पूरा घर बनाउन पाँच लाखभन्दा बढी ऋण लिनुप¥यो। दिदी–बहिनी र स्थानीय सहकारी समूहबाट लिएको ऋण अहिले परिवारको मुख्य बोझ बनेको छ।
त्यसमाथि, उच्च शिक्षामा भर्ना भएका छोराको फारम भर्ने पैसा नहुँदा बाध्यतावश उनलाई भारतमा मजदुरी÷व्यापारका लागि पठाउनु परेको पीडा बिजमायाको आँखामा अझै ताजा छ। छोरी सृजना भने कक्षा ९ मा निरन्तरता लिएर पढिरहेकी छिन्।
सामुदायिक जिम्मेवारीको उदाहरण
गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा भन्छन्, “सञ्चारकर्मीहरूले आवाज नउठाएको भए यो सम्भव नहुन पनि सक्थ्यो। सानो सहयोगले ठूलो परिवर्तन ल्याउँछ, भन्ने उदाहरण हो।” यो घटनाले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ। अध्यक्ष बुढाले बिजमायाको घर निर्माणलाई मिडियाको जागरूकता, स्थानीय सरकारको सक्रियता, र समुदायको सामूहिक उत्तरदायित्वको सफल संयोजनको रूपमा हेर्नुभएको छ। उपाध्यक्ष शान्ति मल्ल (भण्डारी)ले मुद्दालाई कार्यपालिकामा प्राथमिकतामा राखेर बजेट निकालेको बताइन्। स्थानीय सरकारले पनि यस संवेदनशील विषयलाई तत्काल सम्बोधन गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश–जुम्लाकी प्रमुख कल्पना आचार्य (नेपाल) सहितको टोलीले घर अवलोकन गर्दै यसलाई ‘सामुदायिक जिम्मेवारीको राम्रो उदाहरण’ भन्दै धन्यवाद व्यक्त ग¥यो। साना छोरी सृजनाले एक दिन आमालाई भनेकी थिइन्, “आमा, हाम्रो घर कहिले बन्छ?” त्यो प्रश्नले बिजमायालाई भक्कानिन बाध्य बनाउँथ्यो। आज त्यही सृजना नयाँ घरको आँगनबाट मुस्कुराउँदै भन्छिन्, “अब हिउँ डर लाग्दैन, आमा पनि चिन्ता गर्नुहुन्न।”
खरानी हुँदै गएको आशालाई सम्हालेर उठेकी बिजमाया भन्छिन्, “यो घर चारवटा भित्तामात्र होइन, समाजले सम्हालेको मेरो जीवन हो।” पत्रकारको कलमले औंल्याएको पीडाले स्थानीय सरकारदेखि मानवअधिकार निकाय र संस्थाहरूसम्म सकारात्मक ऊर्जा फैलायो। कठिन परिस्थिति, असहज बास, आर्थिक अभाव र निरन्तर सङ्घर्षका वर्ष पार गरेकी बिजमाया आज पक्की घरमा बसिरहेकी छन्।






