Tuesday, November 3, 2026

जुम्ला, मंसिर १४ गते। आर्थिक अवसरहरू सीमित हुँदा बढ्दो युवा पलायनको समस्यालाई मध्यनजर गर्दै, जुम्लाको सिँजा गाउँपालिकाले कृषिमा आधारित उद्यमशीलता प्रवद्र्धन गर्ने महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ। स्थानीय युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्यसहित गाउँपालिकाले सहुलियत ब्याजदरमा कृषि कर्जा प्रवाह गर्ने घोषणा गरेपछि गाउँको आर्थिक रूपरेखा बदलिने अपेक्षा गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सञ्चालन हुन लागेको ‘सरल कृषि अनुदान सहयोग कार्यक्रम’ गाउँमा व्यावसायिक कृषि तर्फको आकर्षण अभूतपूर्व रूपमा बढाउने संकेत छ। गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले यस कार्यक्रमको उद्देश्य केवल कर्जा उपलब्ध गराउनु मात्र नभई, दीर्घकालीन कृषि व्यवसायको संरचना निर्माण गर्नु रहेको स्पष्ट पार्नुभएको छ।अध्यक्ष धितालले भन्नुभयो, “कृषक समूह, कृषि सहकारीदेखि लिएर व्यावसायिक रूपमा दर्ता भएका फर्म–कम्पनीसम्म सबैका लागि समान अवसर सिर्जना गरिनेछ। दक्षता, लगनशीलता र योजनाबद्धता भए गाउँमै ठूला व्यावसायिक सम्भावना सिर्जना गर्न सकिनेमा हामी विश्वस्त छौँ।”

१८ देखि ६५ वर्ष उमेरका कृषि व्यवसायमा संलग्न नेपाली नागरिकले पालिकाको सिफारिससहित सहुलियत कर्जा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ। संशोधित कृषि कर्जा निर्देशिका–२०६९ अनुसार बैंकले आवधिक र चालु पुँजी दुवै प्रकृतिको कर्जा उपलब्ध गराउने छ। अधिकतम १० वर्ष भुक्तानी अवधि तथा ग्रेस अवधि रहने यस योजनाले व्यावसायिक कृषि विस्तारका लागि दीर्घकालीन सुनिश्चितता दिने भएको छ।

सिँजा गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट कर्जा लिने व्यक्तिलाई एक प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने निर्णय गरेपछि योजनाको पहुँच झनै सहज बन्ने अनुमान गरिएको छ। स्थानीयस्तरमा कृषि उत्पादन विस्तार भई गाउँमै मूल्यवृद्धि, आयआर्जन तथा स्वरोजगार बढ्ने, बाह्य आयात प्रतिस्थापन हुने र जीवनस्तरमा प्रत्यक्ष सुधार आउने विश्वास लिएको पालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले वताए ।

’हाम्रो लक्ष्य कागजका योजना होइन, खेतबारी, गोठ–कोपेरादेखि बजारसम्मको सम्पूर्ण मूल्य शृंखला मजबुत बनाउने रहेको प्रमुख शाही भन्नुभभयो, ’यसले गाउँमा टिकाउ आर्थिक रूपान्तरण ल्याउने छ।’ उनले भने, यस योजनामा सहभागी हुन नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा र गाउँपालिकाको सिफारिस, विस्तृत व्यवसायिक योजना, जग्गाधनी प्रमाणपत्र तथा अन्य आवश्यक कागजात पेस गर्नुपर्ने बताए ।

कृषि सम्भावनाका दृष्टिले जुम्ला जिल्लाले उत्साहजनक आर्थिक आम्दानि गर्ने संकेत देखाएको छ। सरकारी तथ्यांक अनुसार जुम्लाको कूल २ लाख ५३ हजार १०० हेक्टर क्षेत्रफलमध्ये ६८.६९ प्रतिशत क्षेत्र खेतीयोग्य रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी बताउँछन्।


उनले जिल्लाको ३८ हजार ४८६ हेक्टर (१५.२१%) क्षेत्र खेतीयोग्य जमिन हो। त्यसमध्ये १२ हजार ५१ हेक्टर (३१.३१%) जमिन बाँझो छ भने ३ हजार ६५० हेक्टर (१३.८१%) मात्र जमिन सिंचित छ। जुम्लामा २२ हजार ७८५ हेक्टर (८६.१९%) क्षेत्र असिंचित पाखो जमिन रहेको छ। जिल्लाको १ लाख ४५ हजार ७० हेक्टर (४१.३२%) भू–भाग बनजंगलले ढाकेको छ भने ६६ हजार २१० हेक्टर (२६.१६%) चरन क्षेत्र रहेको तथ्यांकले देखाउँछ। यस्तै ४३ हजार ८३४ हेक्टर (१७.३२%) क्षेत्र ताल, खोला, चट्टानलगायत अस्थायी उपयोग बाहेकका भू–भाग रहेका छन्। अधिकारीले हिमाली भेगको कृषि क्षमतालाई उपयोग गर्दै युवालाई गाउँमै रोजगारी सिर्जना गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।